खाेज्नुहाेस

आज तिज : मौलिकता जोगाउने चुनौती

Image

आज नेपाली हिन्दू महिलाहरुले देवाधिदेव महादेवको पूजाआराधना गरी हरितालिका तीज मनाउँदै छन । हिन्दू धर्मशास्त्र अनुसार प्रत्येक वर्ष भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वती सहित उनको पूजाआराधना गर्ने धार्मिक परम्परा रहेको छ ।

अनादि कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति रूपमा पाउँ भनी व्रत गरेको शिवपुराणमा उल्लेख छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् । तथापि आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी व्रत बसी पूजाआराधना गरेकी थिइन् । अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ । सोही आधारमा तीज पर्व मनाउने गरिएको पाइन्छ ।

attariya hospital

तिजको अघिल्लो दिन दर खाने गरिन्छ । परम्परागत रुपमा दरमा खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफुल खाने गरिन्छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन छ । तिजको दिनभर ब्रत बस्ने भएकाले अघिलो दिन १२ बजे सम्म दर खाने गरिन्छ । तर, पछिल्लो समय दर खाने परिकारमा पनि परिवर्तन आउदै गएको छ । दरका नाममा होटल, पार्टी प्यालेसमा बनेका परिकार खाने गरिन्छ ।

navjiwan hospital

दर तिजको अघिल्लो दिन खाइने भएपछि पछिल्लो समय भने १ साता अघि देखि नै होटलहरुमा कार्यक्रम गरेर दर खाने चलन बढेको छ । यसरी तिज मनाउँदा महिलाहरुले भेटघाट, रमाइलो गर्न पाउने भएपनि तिजको मौलिकता भने हराउने चिन्ता बढेको छ । विभिन्न संस्थाहरुले आयोजना गरेका यस्ता कार्यक्रमहरुमा तिजका परम्परागत मुल्य मान्यतालाई अङ्गिकार गर्ने प्रयास गरिएपनि केही छाडा कार्यक्रम गरेका पनि भेटिन्छन ।

तिजमा संस्कृतिका नाममा विकृति बढ्ने क्रम पनि नरोकिएकाले यस्ता छाडापन रोक्न सबै क्षेत्रबाट लाग्नुपर्ने सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटा बताउन्छिन ।
‘तिजको संस्कृति जोगाउनका लागि बिभिन्न संघसस्थाहरुले तिजका कार्यक्रम गरी यसको परम्पराअनुसार कार्यक्रम गर्न आवश्यक छ’ तिज विशेष आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले भनीन ‘तिजमा रमाइलो भने, भेटघाट गर्ने गरी मनाउन आवश्यक छ । तिजलाई महङ्गो, तडकभडक गरेर मनाउँदा विपन्न वर्गका महिलालाई नराम्रो असर पर्छ ।’ तिजमा विकृति भित्रने चिन्ताका बीच यस्ता गतिविधि देखिने गरेकाले यसको मौलिकता जोगाउनु मुख्य चुनौती भएको अगुवा महिलाहरु बताउन्छन ।

तिजको दिन गरीने कार्यमा पनि पछिल्लो समय धेरै परिवर्तन आएको संस्कृतविद बताउन्छन । तिजको दिन महिलाहरु विहान नुहाई धुवाई गरेर दिनभरी ब्रत बस्ने गरेपछि पछिल्लो समय धेरै महिलाहरुले मध्यान्हमै पुजा आराधना पश्चात फलफूल ग्रहण गर्ने गर्दछन । जुन स्वास्थ्यको दृष्टिकोणले भने राम्रो भएको चिकित्सकहरु बताउन्छन । तिजको दिन महिलाहरु नजीक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाच गान तथा रमाईलो गर्ने गर्दछन् ।

आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरि मनाइए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन बिताउने गर्छन । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ ।

महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ ।