डोटेली समाज काठमाडौंले सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई अभिनन्दन गरेको छ । डोटेली समाज, काठमाडौंका तर्फबाट प्रधानन्यायाधीश श्रेष्ठलाई शनिवार बालुवाटारमा एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरिएको समाजका सहकोषाध्यक्ष टेकबहादुर बमले जानकारी दिए ।

उनका अनुसार प्रधानन्यायाधीश श्रेष्ठ डोटीवासी तथा डोटेली समाजका आजीवन सदस्यसमेत रहेकाले अभिनन्दन गरिएको हो । संस्थाका अध्यक्ष जगदिश केसीका अनुसार विसं २०४८ मा डोटेली समाजको स्थापना भएको थियो ।

आजको कार्यक्रममा पूर्वमन्त्री तथा डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आले, पूर्वमन्त्री तथा कांग्रेसका नेता भक्तबहादुर बलायर, पूर्वप्रदेशसभा सदस्य भरतबहादुर खड्का, लालबहादुर खड्का, सचिव विनोशप्रकाश सिंह, नेकपा एमालेका नेता लक्ष्मण मलासी लगायतको उपस्थिति रहेको थियो ।



















