बझाङ – बझाङमा हिउँदे वर्षा नहुँदा खाद्य संकट हुने चिन्ता गरिएको छ । हिउँदे बर्ष नहुँदा गहुँ बालि राम्रो नहुँदा खाद्य संकट हुने चिन्तामा स्थानीय छन ।
बझाङमा झन्डै ६ महिनादेखि पानी परेको छैन । जसका कारण गहुँ मात्रै नभएर जौ, मुसुरो, उवा, केराउ, तरकारी जस्ता बालीहरू पनि नसप्रिएको किसानहरूले बताएका छन । ‘बालीनालीलाई पुग्दो पानी नपरेको र खेतमा लगाइएको बाली खेतमै सुक्न लागेको हो, पानी नपरेकाले छरेको सबै बीउ उम्रिन पाएन,’ सुर्मा गाउँपालिकाका गणेश बोहराले भने, ‘अहिले त उम्रिएको पनि पहेंलो भएर सुक्न थालेको छ ।’


कतिपयले कात्तिकमा गहुँ लगाएको खेतमा केही पनि नउम्रिएपछि फागुनमा खेत जोतेर वर्षेबाली लगाउने तयारी गरिरहेको उनले बताए ।
खडेरीका कारण जयपृथ्वी र बुंगल नगरपालिकाको उच्च पहाडी तथा हिमाली भूभाग, साइपाल, तल्कोट, मष्टा, सुर्मा, छबिस पाथीभेरा, दुर्गाथली गाउँपालिका बढी प्रभावित भएको बताइएको छ । हिउँदे वर्षा नभएका कारण यहाँको खेतीबाली केही पनि बाँकी छैन ।
‘यो वर्ष हाम्रो पालिकामा ८० प्रतिशतले उत्पादन घट्ने देखिएको छ,’ छबिस पाथीभेरा गाउँपालिकाको कृषि शाखाका प्रमुख दीपक सुनारले भने, ‘तरकारी बालीको उत्पादन त शून्य नै भइसक्यो । अन्नबाली पनि खेतमै सुकेको छ ।
माथिल्लो भेगमा त भोकमरी हुने निश्चित जस्तै छ ।’ उनले नदी किनारका सिञ्चित क्षेत्रमा बालीनाली ठिकै भए पनि पहाडी र हिमाली क्षेत्रमा खडेरीले ठूलो खाद्य संकटको जोखिम निम्तिने निश्चित भएको बताए ।
खडेरीका कारण बीउ बराबरको पनि बाली उत्पादन नहुने अवस्थामा पुगेको बित्थडचिरका किसान वीरबहादुर बोहराले बताए ।


















