बझाङ – नेपाल टेलिकमको टावरमा समस्या हुदाँ बझाङको दुर्गम साइपाल गाउँपालिका फोन र इन्टरनेट सम्पर्कबाट बञ्चित बनेको छ । मष्टा गाउँपालिकास्थित भेकुन्डे टावरमा शनिबार बेलुका चट्याङ परेकाले साइपाल गाउँपालिका २ नाङ्नामा रहेको नेपाल टेलिकमको टावरमा पनि समस्या देखिएको हो ।

नेटवर्कले काम नगर्दा साइपाल गाउँपालिकाको वडा नं १ देखि ५ सम्मका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित भएका छन् । साइपालमा विभिन्न प्राविधिक समस्या र आवश्यक विद्युत नहुँदा बेला बेला समस्या हुँदै आएको छ ।

२०७६ सालमा सञ्चालनमा रहेको उक्त टावरले शनिबारबाट काम गर्न छोडेपछि टेलिफोन तथा इन्टरनेट सेवामा समस्या आएसँगै स्थानीयहरु सञ्चारविहीन भएका गणेश बोहराले जानकारी दिए । साइपालमा नेपाल टेलिकमबाहेक अन्य सेवा प्रदायक टेलिकमको पनि सेवा उपलब्ध नहुँदा साइपालबासीलाई खबर आदानप्रदान गर्न समस्या भएको उनले बताए ।
यता नेपाल टेलिकम बझाङले भने टावर बिग्रिएको खबर प्राप्त भएको र बुधबारसम्म प्राविधिक पठाएर मर्मत गरिने जनाएको छ ।

















