प्रदिप मलासी÷बझाङ – नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बझाङको ३९ औं जिल्ला सभा तथा ११ औं जिल्ला अधिवेशन सुरु भएको छ । शनिबार नेपाल रेडक्रस सोसाईटी बझाङको सभाहलमा जिल्ला सभा तथा अधिवेसन सुरु भएको हो ।
जिल्ला सभा तथा अधिवेशनको जिल्ला समन्वय समितीका प्रमुख नर बहादुर बोहराले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै बोहराले बझाङ जिल्लाका नेपाल रेडक्रस सोईटीले स्थापना काल देखि बिपदका बेला मानव सेवामा समेत राम्रो काम गर्दै आएको बताए ।


उनले आगामी दिनमा पनि जिल्लामा रेडक्रसलाई सक्रिय बनाउन सबैको एकता हुने खालको वातावरण तयार गरि सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे । उनले मानव सेवाका लागि गैरराजनीतीक तरिकाले काम गर्न समेत सबैमा आग्रह गरे ।
जयपृथ्बी नगरपालिका प्रमुख चेतराज बजालले बझाङ जिल्लामा समेत स्थापना काल देखि रेडक्रस सोसाईटी बझाङ मानव कल्याणका साथै प्राकृतिक बिपदका घटनाहरुमा समेत कार्य गर्दै आईरहेको बताए । उनले बझाङमा रेडक्रस सोसाईटीको स्थापना काल देखि यसको संस्थागत विकासका लागि समेत आफुहरुले निरन्तर सहयोग रहदै आइरहेको बताए ।
नेपाल रेडक्रम सोसाईटीका सभापती खडक बहादुर बोहराले आफ्नो कार्यकालमा रेडक्रसको संस्थागत तथा अन्य भौतिक विकासमा समेत राम्रो काम भएको बताए । उनले जिल्ला शाखाको पक्की भवन, नयाँ एम्बुलेन्स प्राप्त लगायत अन्य प्राकृतीक विपदका घटनामा राहत तथा पुर्नरस्थपनाका कार्यमा समेत उपलब्धी मुलक काम गरेको बताए ।

उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका उपसभापती तथा खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकाया, बित्थड चिर गाउँपालिका अध्यक्ष अमर महर, दुर्गाथली गाउँपालिका उपाध्यक्ष जनक दौल्याल, नेपाल रेडक्रस सोसाईटीका संस्थापक मन्त्री नरेन्द्र रावल, पत्रकार महासंध बझाङका अध्यक्ष शैलेन्द्र रोकाया लगायतका वक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम संचालन रेडक्रस सोसाईटीका मन्त्री ईश्वरनाथ जोशीले गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बझाङका तिन जना कर्मचारीलाइए सम्मानित गरिएको छ । नेपाल रेडक्रस सोसाईटीका पहिलो कर्मचारी कृष्ण खाती, रेडक्रमका प्रशासन प्रमुख श्याम नेपाली, कार्यलय सहायक देबराज बिष्टलाई दोसल्ला आडाएर सम्मान गरिएको हो । त्यस्तै संस्थापक मन्त्री तथा जिल्ला शाखाका पुर्व सभापती नरेन्द्र रावललाई समेत दोसल्ला ओडाएर सम्मान गरेको छ ।
रेडक्रसको जिल्ला नेतृत्व चयनका लागि शनिबार देखि नै बन्दसत्र सुरु भएको छ । रेडक्रसले आइतबार सम्म नयाँ नेतृत्व चयन गरिसक्ने जनाइएको छ ।
मानव कल्याणका लागि काम गर्दै आएको नेपाल रेडक्रस सोसाईटी २०३८ सालमा बझाङमा स्थापना गरिएको थियो । त्यस यता जिल्लामा नेपाल रेडक्रस सोसाईटी बझाङ शाखाले प्राकृतिक विपदका साथै मानविय घटनाहरुमा राहत तथा उद्धारको कार्यमा समेत काम गर्दै आई रहेको छ ।
महामानव जाँ हेनरी ड्युनाले ई.सं. १८६३ अक्टोवर २० मा मानव कल्याणको लागि केही गर्नुपर्छ भन्ने सोचका साथ रेडक्रस संस्था स्थापना गर्नु भएको थियो । अन्तर्राष्ट्रिय रेडक्रस विश्वका एक सय ९२ राष्ट्रमा फैलिरहेको छ ।
अन्तर्राष्ट्रिय रेडक्रस स्थापनाको ठीक एक सय वर्ष पछाडि वि.सं. २०२० भाद्र १९ गते नेपालमा रेडक्रसको स्थापना गरिएको थियो ।















