खाेज्नुहाेस

बझाङको सुर्माबाट पैँतिस लाखको आलु निर्यात

Image

बझाङ – बझाङको सुर्मा गाउँपालिकाबाट बर्खा याममा मात्र ३५ लाख बराबरको आलु निर्यात भएको छ । जिल्लाका पाँच वटै वडामा उत्पादन भएको आलु कैलाली, कञ्चनपुर हुँदै बाँकेको नेपालगञ्जसम्म निर्यात गरिएकोे हो ।

उक्त गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखा प्रमुख चक्रप्रसाद जोशीका अनुसार सुर्माका हरेक वडामा उत्पादन भएको बर्खे आलु ३५ रूपैयाँ प्रतिकेजीको दरमा बिक्री गर्दासमेत ३५ लाख बराबर किसानले आम्दानी गरेका छन् ।

godawari nagarpalika dadhelo
attariya hospital

‘हामीले सुर्माबाट एक हजार क्विन्टल आलु निर्यात गरेका हौँ । त्यसैमध्ये ८८ क्विन्टल आलु बीउका लागि डडेल्धुराको कोल्डस्टोरमा राखिएको छ । बाँकी सबै बिक्री भइसक्यो’, उनले भने ‘सुर्मामा पछिल्लो तीन वर्षयता तरकारीमा स्थानीयवासी आत्मनिर्भर हुँदै आएका छन् । यसवर्ष आलु मात्रै नभइ बन्दा, गोलभेडा, काउली र मुलासमेत सुर्मावासीले बजार पु¥याएका छन् ।’ सुर्माबाट बन्दा र काउली पनि ४० क्विन्टल र गोलभेडा १५ क्विन्टल निर्यात भएको थियो ।

navjiwan hospital

यहाँका किसानले काउली र गोलभेडामै जनही ३ लाखभन्दा बढी आम्दानी गरेको कृषि विकास शाखाको तथ्याङ्कमा उल्लेख छ । उक्त गाउँपालिकाको सबैभन्दा बढी तरकारी उत्पादन वडा नम्बर २ घोगाडा, वडा नम्बर ३ विछडा र वडा नम्बर ४ सुर्मामा बढी उत्पादन हुने गरेको छ । गाउँपालिकाका अध्यक्ष खड्कबहादुर बोहराले पनि सुर्मा तरकारीमा आत्मनिर्भर हुँदै गएको र अहिले यहाँका बासिन्दाले तरकारी किनेर खानुपर्ने अवस्था नरहेको जानकारी दिए ।

सुर्माले मात्रै मौसमअनुसार जिल्लालाई आधाआधी पुग्ने गरी तरकारी उत्पादन गरिरहेको छ । पालिकाले व्यावसायिक कृषि गर्न चाहने किसानका लागि अनुदानमा बीउ, टनेल, ढुवानी खर्चसमेत दिने गरेको छ ।

अध्यक्ष बोहराले भने ‘यो दुई/तीन वर्षको अवधिमा गाउँपालिकामा ८० भन्दा बढी टनेल वितरण गरिएको र सोही अनुुसार आवश्यक बीउ र कृषि प्राविधिक पनि उपलब्ध गराइएकाले अब थप उत्पादन वृद्धि हुने विश्वास लिएका छौँ ।’

रासस