खाेज्नुहाेस

पसल–पसलमा बुंगली सुन्तला

Image

बझाङ – मङ्सिर–पुस महिना सुन्तलाको ‘सिजन’ नै हो । ग्रामीण भेगमा राताम्य देखिने सुन्तला हिजोआज बजार केन्द्रित छन् । समशितोष्ण हावापानीमा उत्पादन हुने सुन्तला अहिले पहाड तथा तराईका बजारमा जताततै भेटिन्छ । त्यसैमध्येको एक हो बुंगली सुन्तला । जिल्लाको बुंगल नगरपालिका अहिले सुन्तलाले प्रख्यात छ । बुंगलमा सुन्तला नफल्ने कुनै वडा छैन । उत्पादन भएको सुन्तलाले नजिकको बजार पाउँदैन । रूखबाटै टिपेर व्यवसायी सिधैँ सदरमुकाम पु¥याउँछन्, बजारभरि सुन्तला फैलन्छ र बेचिन्छ ।

बुंगल –७ का पदम बोहराको बारीमा सुन्तलाका ११ बोट छन् । हरेक वर्ष फल्ने सुन्तलाले लगानीअनुसारको पर्याप्त फल दिइरहेको छ । रोपेको दुई वर्षमै फल्न सुरु गरेको सुन्तला अहिले ढकमक्कै भएको छ । ‘गत वर्ष त झण्डै आठ–दश क्विन्टल बराबर सुन्तला फलेको थियो’ उनले भने ‘आधा बिजगडा, बागथला, देउरा, देउलेख, झोतालगायतका स्थानीय बजारमा बेचेँ । धेरै दिन जान नपाएको हुँदा कतै पाहुना, छरछिमेकीले खाए त कति बारीमै सडे ।’

godawari nagarpalika dadhelo
attariya hospital

किसान बोहराका अनुसार यस वर्ष भने उहाँको बारीमा झण्डै पाँच क्विन्टलमात्रै सुन्तला उत्पादन भयो । ‘यसपटक सबै बेचेँ । खर्च काटेर रु ६०–६५ हजार जति फाइदा भयो’ उनले भने । साविकको कृषि विकास कार्यालयबाट प्राप्त भएको सुन्तलाको बोटबाट बर्सेनि फाइदा भइरहेको उनले सुनाए । ‘दुईवटा गरा (बारी) मा सुन्तला लगाएको छु । त्यसैले वर्षभरि नै खानलाई पुगेको छ । सुन्तला रोप्नुभन्दा अगाडि दुई डालो पनि गहुँ हुँदैनथ्यो’ उनले भने ।

बुंगलमा पदममात्रै हुनुहुन्न, हरेक गाउँमा सुन्तला खेती गर्ने कृषक छन् । वडा नं ६ का दिनेश धामीले सुन्तला फलाउन लागेको एक दशकभन्दा बढी भइसक्यो । सुरुमा एउटै बोटबाट दुई–तीन डोका बराबर सुन्तला फलाउने धामी अहिले दर्जन क्विन्टलभन्दा बढी सुन्तला फलाउछन । ‘पहिले घरमा पुरानै बोट थियो । त्योबाट उत्पादन भएको सबै घरमा खाने, छिमेकीलाई बाँड्ने गरिन्थ्यो । अहिले भने १५–१६ बोट छन् । सबै फल्छन् । बजारमा बेच्न जान्छौँ । वार्षिक एक लाखभन्दा बढी नाफा हुन्छ’ उनले भने । बुंगल –६ थन्काँडाकी दुर्गादेवी देवारले सदरमुकाम चैनपुरमा होटल सुरू गरेको १२ वर्ष भयो । त्यस अवधिभर देवारले दर्जनौँ ट्रक सुन्तला बुंगलबाट ल्याएर बेचिन । पाँच वर्षयतामात्रै देवारले सिजन अनुसार बर्सेनि ३० देखि ४० क्विन्टल बुंगली सुन्तला बेच्दै आएको बताईन ।

सुन्तलाको व्यवसायबाट धेरै फाइदा नभए पनि घर खर्च चल्ने गरेको उनको भनाइ छ । ‘गएको हप्ता बुंगल नगरपालिका–५, ६ र ९ बाट २०–२२ क्विन्टल सुन्तला ल्याएका थियौँ’ उनले भने ‘बुंगलको सुन्तला अन्य जिल्लामा पठाउँदा बढी खर्चिलो हुन्छ । कृषकसँग सम्पर्क गरेर हामी सदरमुकाममा ल्याउँछौँ । यता बजार पनि बुझेको हुँदा बेच्न पनि सजिलो हुन्छ ।’ किसान देवारका अनुसार बुंगलमा रूखबाटै ल्याउँदा पनि सुन्तलाको प्रतिकेजी सय रूपैयाँ पर्छ । बुंगलबाट चैनपुर पु¥याउनसम्म १ सय ३० पर्छ । त्यसमा २० नाफा राखेर १ सय ५० प्रतिकिलो बिक्री गर्ने गरेको उनले बताईन ।

navjiwan hospital

उनले सन्तानलाई गुणस्तरीय शिक्षा दिनका लागि सदरमुकाममा होटल सुरु गरेर छोराछोरी विद्यालयमा भर्ना गरेकी थिईन । सात जना सदस्य रहेको देवारका अहिले दुई निजी र तीन सन्तान सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका छन । छोराछोरी पढाउनकै लागि होटलसहित सिजनअनुसार तरकारी तथा फलफूलको व्यापार गरिरहेको उनका श्रीमान महेशले बताए ।

पालिकाको प्राथमिकतामा कृषि

बुंगलमा कृषकलाई व्यावसायिक बनाउनका लागि अनुदानका कार्यक्रम ल्याएको नगरपालिका उपप्रमुख धनबहादुर बोहराले बताए । उनले भने ‘कृषकलाई व्यावसायिक बनाउनका लागि हामीले फलफूल, तरकारी तथा रैथाने बाली उत्पादनका लागि सहयोग गरिरहेका छौँ ।’ उनले कृषकलाई बीउ तथा बेर्नासहित अनुदानसमेत सहयोग गरिरहेको बताए । उनका अनुसार पालिकाको प्राथमिकता पनि कृषिमा नै छ ।

‘कृषिमा आत्मनिर्भर हुनसक्यो भने हामी सबैतिर परिपक्व हुन्छौ, उनले भने ‘नेपालले कृषि प्रधान देश बनाउनका लागि आफैँबाट सुरू गर्नुपर्छ भन्दै कृषिमा बढी लगानी गरेका हौँ ।’ जिल्लाको तल्कोट, बुंगल, छविसपाथिभेरा, दुर्गाथलीलगायतका पालिकामा यस वर्षमात्रै करिब पाँच सय क्विन्टल सुन्तला उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टका अनुसार सबैभन्दा बढी सुन्तला बुंगलमा फलेको छ भने त्यसपछि तल्कोटमा फलेको छ ।

सुन्तला धेरै उत्पादन नभएको हुँदा बाहिरी जिल्ला निर्यात नगरेको उनले बताए । ‘सुन्तला उत्पादन धेरै छैन, ढुवानीका लागि कृषकलाई गत वर्ष ७० हजार र यस वर्ष ३० हजार ढुवानी खर्च दिएका छौँ । उहाँहरूले जिल्लामै बिक्री गर्नुहुन्छ’ उनले भने । उनका अनुसार सुन्तला उत्पादन भए जति सबै जिल्लामै खपत भइरहेको छ ।

रासस