खाेज्नुहाेस

बझाङमा धारा बनेको ८ महिनासम्म पानी आएन

Image

बझाङ – खप्तडछान्ना गाउँपालिका–५ मतुवाकी शर्मिला उपाध्यायलाई जहिल्यै पानीको चिन्ता हुन्छ । नजिकै कुवाको पानी वा टाढाको धाराबाट पानी बोकेर दैनिकी चलाउनु उनको नियति जस्तै हो ।

उपाध्यायलाई गत चैतमा भने लामो समयदेखिको पानीको समस्या समाधान हुन्छ कि भन्नेमा आशा पलायो । टोलमै नयाँ खानेपानीको धारा बनेपछि पानीका लागि दुःख गर्नु नपर्ने भन्दै टोलवासीमै खुशियाली छायो । धारा त जडान भयो तर अहिलेसम्म पानी आएको छैन ।

godawari nagarpalika dadhelo
attariya hospital

‘धारामा पानी आउँछ भनेर कुर्न थालेको आठ महिना भइसक्यो’, उपाध्यायले भने, ‘यहाँ न पानी आयो, न प्लम्बर (पानीको धारा बनाउने व्यक्ति) टोली नै आए । हामी फेरि कुवाकै भर पर्नु परेको छ ।’

navjiwan hospital

शर्मिलाको समस्या गाउँवासीकै समस्या हो । ‘पानी नआउँदै धारा पुराना हुने भए’, सोही ठाउँकी सविता उपाध्यायले भनिन्, ‘भोलि÷पर्सी नै आउँछ भनेको पानी आठ÷नौ महिना बित्दा पनि आउने सुरसारै छैन ।’ उनका अनुसार धारा निर्माण गर्ने उपभोक्ता समितिले धारामा पानी छिट्टै आउने आश्वासन मात्रै दिइरहेको छ ।

उपाध्यायका अनुसार अहिले गाउँमा भएको पुरानो धाराबाट पनि निकै कम पानी आउँछ । ‘खाना पकाउन लागि एक गाग्री पानी भर्न पनि एक घण्टा नै कुर्नुपर्छ । कहिलेकाहीँ त दिउँसो पानी भर्न घुइँचो लाग्ने हुँदा राति भर्नुपर्छ’, उनले दुखेसो गरे ।

गाउँमा दिनहुँ खानेपानीको समस्या हुनुमा उपभोक्ताको लापरबाही कारक भएको खप्तडछान्ना गाउँपालिका–५ का वडाध्यक्ष रामबहादुर सिंहको भनाइ छ । ‘बाहिरको ठेकेदार भए त टाढा हुन्थ्यो । गाउँमै बस्ने उपभोक्ता समितिका पदाधिकारीले गाउँकै समस्यालाई बेवास्ता गर्नु भनेको ठूलो लापरवाही हो’, उनले भने ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष विक्रम सिंहले भने पानीको ट्याङ्की, पाइप बिछ्याउने काम सकिएको र छिट्टै धारामा पानी आउने बताए ।

रासस