खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही साउनदेखि थप आठ स्थानबाट देशबाहिरबाट आयात भएका तरकारी तथा फलफूलमा द्रुत विषादी अवशेष (आरबीपीआर विधि)मार्फत परीक्षण सुरु गरेको छ ।
यसअघि विभागले देशका विभिन्न सात नाकामा रहेका भन्सार कार्यालय आसपासमा बसेर आयातित फलफूल तथा तरकारीको परीक्षण गर्दै आएकामा साउनदेखि थप आठ स्थानबाट परीक्षण सुरु गरेको विभागले जनाएको छ ।


विभागले साउनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय, तातोपानी भन्सार, रसुवागढी, कृष्णनगर र गड्डाचौकी, चोभार सुक्खा बन्दरगाह, सुक्खा बन्दरगाह सिर्सियामा पनि विषादी परीक्षण सुरु भइसकेको छ भने भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलमा पनि उपकरणसहितको जनशक्ति उपलब्ध गराएर भर्खर परीक्षण सुरु गरेको जनाएको छ ।
यसअघि हाल काँकडभिटा, विराटनगर, जलेश्वर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा र धनगढी नाकाबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी अवशेष भन्सार नाकामै परीक्षण गर्दै आएको थियो ।
विभागका महानिर्देशक डा. मतिना वैद्य जोशीले हाल परीक्षण हुँदै आएका स्थानबाहेकका नाकाबाट ठूलो परिणाममा तरकारी र फलफूल भित्रिने हुँदा थप प्रयोगशाला आवश्यक ठानी यही साउनदेखि सञ्चालनमा ल्याइएको जानकारी दिए ।



















