आशिष बहादुर सिंह/बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिकाका अध्यक्ष अक्कल बहादुर धामीले स्थानिय सरकारलाई प्रभावकारी सिंहदरबार बनाउन संघ र प्रदेश सरकारको महत्वपुर्ण भुमिका रहने बताएका छन ।
गाउँपालिकाको नवौ हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रदेश र संघ सरकारले स्थानिय सरकारलाई आर्थिक रुपमा विशेष ध्यान दिए स्थानिय सरकारले जनतालाई गाउँमै सिँहदरबार आएको अनुभुती हुने गरी कार्य गर्न सफल हुने बताए ।


‘स्थानिय सरकारलाई मजबुत बनाउनका लागी प्रदेश र संघ सरकारले आर्थिक रुपमा बलियो बनाउनुप-यो’ उनले भने ‘अहिले बजेट अभावका कारण योजना बनाउन पनि नगरपालिकालाई गाह्रो हुने गरेको छ । स्थानिय पालिकाका योजनाहरुलाई पनि मुर्त रुप दिन समस्या भैरहेको अवस्था छ ।’

उनले मानविय सोचका साथै लैङ्गीक, जातिय विभेद, बालविवाह लगाएतका कुरालाई पनि ध्यान दिई पालिकाहरुले विकाश निर्माणका कार्यलाई अगाडी बढाउनु चुनौतीपुर्ण रहेको बताए । उनले विकाशको जग बसाल्न जनप्रतिनिधि र कर्मचारीको पनि दक्षता र योग्यता बढाउनु पर्ने बताए ।
अध्यक्ष धामीको अध्यक्षतामा आयोजित अधिवेशन पालिकाको सभाहलमा सञ्चालन गरिएको हो । अधिवेशनमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गगन ऐडीले प्रगती प्रतिवेदन र लेखा अधिकृत मुकेश थापाले वित्तिय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त प्रतिवेदनहरुमाथी जनप्रतिनिधि तथा पार्षदहरुले छलफल गरेका थिए । कार्यपालीकाले कार्यविधि संसोधन तथा अनुमोदन र रकमान्तर रकम माथि छलफल तथा अनुमोदन गरेको थियो । गाउँपालिका ले चालु फागुन मसान्त सम्म पुँजी तर्फ ५१ प्रतिशत रकम खर्च भएको बताएको छ ।
नवौ अधिवेशनका सहभागीहरुले गाउँपालिकाका योजना तथा गतिविधिहरु छिटोछरितो रुपमा अगाडी बढाउनुपर्ने सुझाव समेत दिएका थिए । अधिवेशनमा गाउँपालिका कार्यालयका सबै शाखाका प्रमुखहरुले शाखागत रुपमा प्रगति प्रतिबेदन समेत प्रस्तुत गरेका थिए ।














