रमेश बहादुर सिह/बझाङ – बझाङ जिल्लाका प्रमुख राजनीतिक दलहरू स्थानीय तहको निर्वाचनलाई लक्ष गर्दै गाउँ पस्न थालेका छन् । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि मिति घोषणा गरेपछि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र अन्य साना दलले गाउँ प्रवेश अभियान थालेका हुन् ।
दलका नेताले गाउँमा गएर कार्यकर्ता भेटघाट, पार्टी भेला, प्रशिक्षण, बैठक लगायत कार्यक्रमलाई तीव्रता दिएका छन् । आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लिएर अहिले गाउँ गाउँमा अभियान नै थालिएको नेपाली कांग्रेसका नगर उपसभापति दिनेश बहादुर साउदले बताए । ‘पार्टीलाई जिताउका लागि गाउँगाउँमा कार्यकर्ता भेटघाट, घरदैलो र भेला सुरु गरिसकेका छौँ,’ उनले भने ‘पार्टीका नेताको कार्यविभाजन अनुसार गाउँ गाउँमा अहिले नेता तथा कार्यकर्ताको सक्रियता बढाइएको छ ।’


जिल्लाका १२ वटै स्थानीय तहमा आगामी चुनाव लक्षित कार्यक्रम गर्दै पार्टी प्रवेश तथा कार्यकर्ता भेला र सङ्गठन विस्तारमा लागिएको नेकपा (एमाले) केन्द्रीय सदस्य समेत रहेका नेता ऐन महरले बताए ।

‘चुनाव नजिकिँदै गएको छ । सम्भावित उम्मेदवार छान्न र आगामी चुनावका लागि अहिले हामीले गाउँ गाउँमा अभियान थालेका छौँ’ उनले भने ‘चुनाव आइसक्यो । प्रचारप्रसारलाई तीव्र पारिएको छ ।’
नेपाली काग्रेसले पनि अहिले गाउँ गाउँमा गएर वडा तथा टोल भेला गरेर आगामी चुनावका एजेण्डा सहित अभियानकै काम अगाडि बढाइएको जिल्ला सभापति खडक बोहराले जानकारी दिए ।
‘हामी विगतमा चार स्थानीय तहमा विजयी भएका थियौँ ।’ उनले भने ‘यो पटक थप स्थानीय तहमा विजयी हुने गरी अभियान थालेका छौँ ।’ पार्टीलाई मजबुत बनाएर एकीकृत रुपमा अगाडि बढाउनाका साथै अहिले सबै स्थानीय तहमा भेला, गोष्ठी, सङ्गठन विस्तारको अभियान चलाइएको नेपाली काँगेसका जयपृथ्वी नगरपालिका का प्रत्यासिक उम्मेदवार चेतराज बजालले बताए । ‘हामीले सङ्गठन सुदृढीकरण र विस्तारको अभियान थालेका छौँ,’ उनले भने ‘हामी सबै नेता तथा कार्यकर्ता गाउँमा छौँ ।’
जिल्लाका अन्य दल एकीकृत समाजवादी नेकपा माओवादी केन्द र अन्य साना दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलले पनि स्थानीय चुनाव लक्षित अभियानमा लागेको बताएका छन् ।














