रमेश बहादुर सिह/बझाङ – बझाङमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ ।
रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको जयपृथ्वी नगरपालिका–१ कैलाश का रबिन्द्र सिँहले बताए । उनले भने, ‘कोही बिरामी परे सेना र प्रहरी खोज्नुपर्छ, स्थानीयले रगत दिनै मान्दैनन् ।’ अस्पतालमा बिरामीले रगतको व्यवस्था आफै गर्नुपर्ने हुन्छ ।



नेपाली सेनाका विभिन्न युनिट, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले बिरामीलाई सहजै रगत उपलब्ध गराउने गरेका कारण सहज भएको छ । ‘रगत आवश्यक परे सिधैँ प्रहरी र सेनालाई सम्पर्क गर्छौं’, जिल्ला अस्पतालका प्रमुख डा. सन्दिप ओखेडाले भने ।
जिल्लामा रगत संकलन केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याए पनि रगत अभाव भइरहन्छ । रगतका लागि सो केन्द्र भरपर्दो नभएको स्थानीयवासी बताउँछन् ।
रक्तदानका लागि बिभिन्न युवा सघंहरुले जिल्लामा अभियान नै सञ्चालन गर्ने गरेका छन । तर अहिले सबै युवाहरु पनि मौन रहेका छन । रगतको अभाव हुदाँ सुत्केरीलाई सबैभन्दा बढी समस्या हुने गरेको डा. ओखेडाले बताए ।













