बझाङ – बझाङ जिल्ला अस्पतालमा भेन्टिलेटर सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति अभाव रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटर सहितको आइसियू कक्ष राख्ने निर्णय अनुरूप उक्त आइसियू बेड ल्याइएको थियो ।
गत वर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्नका लागि दक्ष जनशक्ति अभाव रहेको छ । कोरोना महामारीको दोस्रो लहरका बेला जिल्लामा श्वासप्रश्वासका विरामीका निम्ति ल्याइए पनि दक्ष जनशक्तिको अभावमा ती बेड सञ्चालनमा ल्याउन नसकिएको हो ।


कोरोना महामारीको दोस्रो भेरियन्ट फैलिएका बेला बझाङमा झण्डै १ हजार ६ सयभन्दा बढी संक्रमित भएका थिए भने उपचार अभावमा २१ जनाले ज्यान गुमाएका थिए ।

श्वासप्रश्वासमा समस्या भएका जटिल संक्रमितलाई डडेल्धुरा तथा कैलाली रिफर गर्ने गरेको र त्यहाँ नपुग्दै बाटोनै मृत्यु हुने गरेको थियो । जिल्लामा भेन्टिलेटरसहितको आइसियू सञ्चालनका लागि दक्ष जनशक्ति अभाव रहेको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए ।
जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काका अनुसार अहिले ती दुईवटा भेन्टिलेटर सहितका ८ वटा आइसियू बेड जडान कार्य सम्पन्न भएको छ । पुस महिनाको पहिलो साता मात्रै उक्त जडान कार्य गरिएको डा. खड्काले बताए ।
जनशक्ति अभावकै कारण लामो समयसम्म उक्त सेवा सञ्चालन गर्न नकिएको बताउँदै अहिले दुईजनालाई भेन्टिलेटर सहितको आइसियू बेड सञ्चालनका लागि तालिम दिइएपछि सञ्चालन गर्न सकिने भनाइ छ ।
अहिले जिल्ला अस्पताल बझाङमा रहेको भेन्टिलेटरसहितको आइसियू बेड सञ्चालनका लागि डा. मिलन खड्का र नर्स साधना खड्कालाई तालिम दिएको जिल्ला अस्पताल बझाङका प्रमुख अनवेश कोइरालाले जानकारी दिए ।














