रमेश बहादुर सिह/बझाङ – सिमखेत बसपार्कमा रोकिएका दुई वटा बस यात्रुले खचाखच भरिएका थिए । बसको बाहिर त्यतिकैको संख्यामा उनीहरुका आफन्त उभिएर विदाइ गरिरहेका थिए । बझाङबाट धनगढी र महेन्द्रनगरका लागि छुट्ने तयारीमा रहेका ति बस भित्र प्राय युवाहरु थिए भने विदाइका लागि गएका महिला तथा बालबालिका थिए । गाडीभित्र र बाहिर भएका सबैका आँखा रसाएका थिए भने कोही एक अर्कालाई अँगालो हालेर रोइरहेका थिए । कोही ढोग–भेट गरिरहेका थिए ।



३६ जना यात्रुको चलानी काटेको महाकाली यातायातको गाडी र ३५ जना चलानी काटेका धनगढी जाने गाडीभित्र बसेका धेरैजसो यात्रु रोजगारीका खोजीमा भारत जानका लागि घरबाट हिँडेका थिए ।
कोरोनाको संक्रमण फैलिदै गएपछि भारतमा रहेका नेपाली फेरी रोजगारी गुम्ने त्रासले घर फर्किरहेका भएपनि बझाङबाट पने परिवार पाल्नकै लागि अझै भारत जाने क्रम रोकिएको छैन ।

‘मङ्सिरयता मात्र पाँच सयभन्दा धेरै जना यहाँबाट भारत गइसकेका छन् । कुनै–कुनै वडामा त एक जना पनि पुरुष भेटिँदैनन् । कसैको मृत्यु हुँदा लास उठाउने मान्छेसम्म गाउँमा छैनन’, थलारा गाँउपालिका–९ का अध्यक्ष मोहनराज जैशीले भने, ‘२५–३० जना त परिवार र केटाकेटी समेत लिएर भारततर्फ हिँडेका छन् ।
यसरी समूहमा नै गाउँका युवाहरू रोजगारीका लागि भारततिर जान थालेपछि गाउँमा पुरुषको सङ्ख्या घट्दै गएको छ । तिहारपछि सुरु भएको भारत जानेको लर्काे अझै रोकिएको छैन ।
‘भारत जानेमध्ये धेरैले बनबासा र केहीले गौरीफन्टा नाका प्रयोग गर्ने गर्दछन् । महाकाली यातायातको बसमा यात्रा गर्ने ८० प्रतिशत यात्रु भारत जाने नै हुन्छन् । गएको कात्तिकदेखि नै भारत जानेको लर्काे लागेको हो’, सुदूरपश्चिम यातायातको सिमखेत काउन्टरका सदस्य जीवन खड्काले भने, ‘यो वर्ष भारत जानेको सङ्ख्या गएको वर्षभन्दा दोब्बरले बढी छ ।’ यही वर्ष आएको बाढी–पहिरोले जमिन नै लगेपछि भारत जानेको सङ्ख्या गएको वर्षभन्दा बढेको हो ।
गाउँमा काम नपाएपछि वृद्ध आमाबुबालाई घरको जिम्मा लगाएर श्रीमती र छोरासहित भारतको बेङ्गलोर हिँडेको दुर्गाथलीका सुशील विष्टले बताए । ‘खेतीपातीमा उब्जनी छैन, आमाबुबाको उपचार गर्नुछ, सबैको पेट पनि पाल्नै पर्यो’, उनले गुनासो पोखे, ‘गाउँमा काम पाइँदैन, भारत नगएर के गर्नु ?’
श्रीमती र परिवारसहित गएकाहरु एक–दुई वर्ष बसेर फर्किने र एक्लाएक्लै गएका धेरैजसो मानिसहरू जेठको खेती लगाउने बेलासम्म घर पुगिसक्ने गर्दछन् ।
भारत जानेको सङ्ख्या यकिन नभए पनि गएको असोज र कात्तिक महिनामा आएको बाढीपछि विभिन्न गाउँबाट १५ हजारको हाराहारीमा मानिसहरू भारत गइसकेको अनुमान छ ।













