काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले किरात समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।
राष्ट्रपतिको सन्देशमा किरात समुदायका राई, लिम्बु, सुनुवार र याक्खाहरूको महान् चाड उधौली पर्व हरेक वर्ष मंसिर पूर्णिमाका दिनबाट सुरु भई १५ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ ।


हिउँद सुरु भएपछि जाडो छल्न मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट उँधो अर्थात् बेँसीतिर बसाइँ सर्ने समयमा मनाइने उधौली पर्वका अवसरमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै राम्रो फसलका लागि भूमिप्रति आभार व्यक्त गर्दै अन्नको सह बसोस् भन्ने कामनासहित भूमिको पूजागर्ने गरिन्छ ।
साथै राष्ट्रपतिले यस अवसरमा किरात युवायुवती र वृद्धवृद्धासमेत परम्परागत पहिरनमा ढोल र झ्याम्टाको तालमा सामूहिक रूपमा साकेला नृत्य गर्दै रमाइलो गर्ने बताएकी छन् ।
‘ऋतु परिवर्तनको प्राकृतिक चक्र सँगसँगै आफ्नो जीवन चर्यालाई एकाकार बनाउन अभ्यस्त प्रकृति र पितृपूजक किरात समुदायको यो चाडले हाम्रो मौलिक सांस्कृतिक परम्परालाई समृद्ध तुल्याएको छ,’ राष्ट्रपतिको सन्देशमा भनिएको छ‚ ‘यस उधौली पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरणको संरक्षण अपरिहार्य रहेको सन्देशसमेत दिएको छ भन्ने मलाई लागेको छ ।’
रासस
















