अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित एक डेरीबाट खरिद गरिएको दूधमा किरा भेटिएको गुनासोपछि प्रहरीले डेरी सञ्चालकलाई सोधपुछका लागि पक्राउ गरेको छ ।
सोमबार बिहान स्थानीय पार्वती चौधरीले ‘कैलाली दुग्ध सहकारी संस्था लिमिटेड’ बाट खरिद गरेर घरमा ल्याएको दूधमा सेतो रङको किरा भेटिएको थियो ।


सोबारे चिया खान उनको घरमा पुगेका शिव भगवती गौमाता संरक्षणका अध्यक्ष अनुपदत्त भट्टले बिहान ९ः४० बजे प्रहरी चौकी गेटामा मौखिक जानकारी गराएका थिए ।
जानकारी पाएपछि प्रहरी चौकी गेटाबाट प्रहरी सहायक निरीक्षक टिकेश्वरी महराको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेको थियो । प्रहरीले डेरीमा बाँकी दूध खोज्दा फेला नपरेको र सबै दूध बिक्री भइसकेको डेरी सञ्चालक तेजबहादुर खड्काले बताएकोे इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरा सिंह महराले बताएका छन ।
प्रहरीले सञ्चालक खड्कालाई आवश्यक सोधपुछका लागि प्रहरी चौकी गेटामा ल्याई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ । घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

















