काठमाडौं – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ ।
विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ ।


विगत वर्षमा नेपालमा मात्र मनाइने तीजपर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि मनाउन थालिएको छ । तीजको गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालिएको छ ।
तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज बर्तालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रूपमा खाई सोमबारको व्रतका लागि पूर्वतयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन् ।
महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् ।
















