काठमाण्डौं – हिउँपहिरोले ल्हेन्दे नदी थुनेर बाढी आएको प्रारम्भिक आकलन गरिएको छ। निकै सीमित मूल्यांकन र नेपाल तथा चीनका वैज्ञानिकहरूसँग भएको छलफलका आधारमा रसुवागढीको २५ किलोमिटरमाथि ल्हेन्दे खोलमा हिउँपहिरो खसेको र उक्त खोलो थुनिदा बाढी आएको विपदविज्ञ डा. वसन्तराज अधिकारीले बताएका छन्।
‘स्थलगत सूचना अभै प्राप्त भएको छैन तर नेपालतर्फबाट आएको हिमपहिरोले उक्त खोला थुनिएको देखिएको छ,’ उनले बताए।

अहिले त्यस क्षेत्रका भूउपग्रहीय दृश्यहरूको समीक्षा भैरहेको र केही घण्टामा यो निर्क्याेल हुने उनको तर्क थियो। उनले पानीको तह गहिरो भएकाले जोखिम कायमै रहेको बताए।

जलवायु परिवर्तनविज्ञ अरुणभक्त श्रेष्ठ पनि प्रारम्भिक सूचनाको आधारमा हिउँपहिरोको कारण ल्हेन्दे नदी थुनिएर त्यो बाढी भोटेकोशीमा आएका बताउँछन्।
जलवायु परिवर्तनका कारण पर्वतीय जोखिम झन् बढेको यो घटनाले पुर्नपुष्टि गरेको बताउँदै श्रेष्ठले यस प्रकारका घटनामा पूर्व सूचना प्रणालीको महत्त्व अत्यधिक हुने बताए।
उच्च हिमाली क्षेत्रमा भैरहेका गतिविधि थाह पाउन नेपालसँग भूगर्भीय सुविधा र सूचना प्रणाली नभएको बताउदै जलवायुपरिवर्तनविज्ञ श्रेष्ठले चीनसँग यसप्रकारको प्रणाली भएकाले यस्ता घटनाको पूर्व सूचना र तत्काल सूचना तत्काल साझेदारीको व्यवस्था गर्न आवश्यक रहेको बताए।
‘सीमा जोडिएको नेपाल र चीनले यस प्रकारको सूचना साझेदारी गर्दा धनजनको क्षति रोक्न सहयोग पुग्दछ,’ उनले बताए।


















