बारा – गत बुधबार बिहान ११ बजेबाट बन्द भएको वीरगञ्ज–पथलैया सडक खण्ड आज चौंथो दिन पनि ठप्प छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन बर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर न्यायका लागि भन्दै सडकमा उत्रिएका स्थानीयबासीले वीरगञ्ज–पथलैया सडकको सिमरामा सडकमै टेण्ट टाँगेर प्रदर्शन गरिरहेका छन् ।


बिहीबार राति स्थानीय प्रशासनले केही राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको रोहबरमा पाँच बुँदे सहमति गर पनि मृतक बलिकाकी परिवारले उक्त सहमति अमान्य रहेको बताएको थियो । अहिले पनि स्थानीयले सडक धर्ना जारी राखेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरा बस्ने मनमती चौधरीकी छोरी गरिमा चौधरी साउन ३१ गतेदेखि हराइरहेकी थिइन । उनी भदौ २ गते वीरबहादुर रोकाको एकतले घरको खाली कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन ।
बालिकाको शव फेला परेपछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बारा लगायतको टोलीले शव फेला परेको दुई घण्टापछि पक्राउ गरेकाे थियाे ।
प्रारम्भिक अनुसन्धानका क्रममा जीतपुरसिमरा उपमहानगरपालिका –२ बस्ने १६ वर्षीय म्याजिक सहचालक सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई जबरजस्ती करणीपछि हत्या गरेको खुलेको छ । त्यसैगरी म्याजिक धनी जितपुर सिमरा-१ बस्ने बर्ष २४ को प्रोग्रेस चौधरी समेतलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।


















