कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पीडित बिरामीले सहज रुपमा उपचार पाउन सकेका छैनन् । सीमित स्रोतसाधनका कारण अस्पतालमा डायलाइसिस गराउँदै आएका बिरामीलाई नियमित सेवा दिन समस्या भइरहेको छ ।
मिर्गौला पीडित बिरामीले हस्तामा दुई पटकसम्म डायलाइसिस गर्नुपर्ने भए पनि अस्पतालमा उपलब्ध जनशक्ति र उपकरण बिरामीको चापअनुसार पर्याप्त नहुँदा बिरामीले पालो कुरेर बस्नुपर्ने समस्या रहेको महाकाली प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट जगदीश जोशीले जानकारी दिए ।


मेसु जोशीका अनुसार अहिले अस्पतालले दुई सिफ्टमा सेवा प्रदान गर्दै आएको छ । शय्या अभावका कारण २५ जनासम्म पालो कुरेर बस्नुपर्ने अवस्था रहेको उनले बताए ।
महाकाली अस्पतालमा दैनिक २५ बिरामी डायलाइसिस सेवा लिन आउने गरेका छन् । डायलाइसिसका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गए पनि आवश्यक उपकरण, शय्या र जनशक्ति नहुँदा उपचार व्यवस्थापनमा चुनौती देखिएको छ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण गर्दै पहिलो निर्णय सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस शय्या थप गरेर मिर्गौलाका बिरामीको उपचारमा पहुँच बढाउने निर्णय गरेका थिए ।
अस्पताल प्रशासनले शय्या थपेर मात्रै समस्या समाधान नहुने बताउँदै शय्यासँगसँगै जनशक्ति र उपकरणसमेत थप गर्नुपर्ने अस्पतालले जनाएको छ ।















