धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट चार दिन पछि पुनः सेती प्रादेशिक अस्पतालको निरिक्षण गर्न पुगेका छन । आइतबार मात्रै अस्पतालको अनुगमन गरेका मुख्यमन्त्री भट्ट पुन मंगलबार अस्पतालको सेवा र व्यवस्थापनको अवस्था बुझ्न अनुगमनमा गएका हुन ।

सो क्रममा उनले बिरामीसँगै बसेर अस्पतालबाट प्राप्त भइरहेको उपचार सेवाबारे जानकारी लिनुका साथै चिकित्सक तथा स्वास्थ्यकर्मी समयमै उपस्थित हुने–नहुने विषयमा समेत जानकारी लिएका थिए । आइतबारको अनुगमनका क्रममा मुख्यमन्त्री भट्टले अस्पतालको अवस्था सुधारका लागि एक साताभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएका थिए ।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्र सुधारलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै सेती प्रादेशिक अस्पतालबाटै सुधारको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । उनले प्रदेशभरका अस्पतालको सेवा, पूर्वाधार र व्यवस्थापनमा सुधार गर्दै नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने बताए ।
















