धनगढी – धनगढीमा बैतडी समाज कैलालीको आयोजना र कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित १८ औँ बृहत् रक्तदान महोत्सवमा ८१ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेमा ५५ जना पुरुष र २६ जना महिला रहेका छन्। रक्तदान गर्ने ८१ जनामध्ये ४९ जनाले पहिलोपटक रक्तदान गरेको कार्यक्रमका संयोजक वीरबहादुर महराले जानकारी दिए।
सुदूरपश्चिम क्षेत्रमा देखिँदै आएको रगतको अभावलाई केही हदसम्म पूर्ति गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय युवा, उद्योगी तथा व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको थियो। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा संकलन गरिएको रगतले आकस्मिक अवस्थामा रहेका बिरामीको उपचार तथा जीवनरक्षामा सहयोग पुग्ने समाजका अध्यक्ष गजेन्द्र वीर चन्दले बताए।


रक्तदानसँगै महोत्सवअन्तर्गत निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो। विभिन्न स्वास्थ्य संस्थाको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको शिविरमा सर्वसाधारणले विभिन्न स्वास्थ्य सेवा निःशुल्क प्राप्त गरेका थिए।
स्मृद्धि डेन्टलको प्राविधिक सहयोगमा २५ जना नागरिकको दाँत परीक्षण तथा स्वास्थ्यसम्बन्धी परामर्श दिइएको थियो। यस्तै, नवजीवन अस्पतालको प्राविधिक सहयोगमा २८ जना बिरामीको सुगर तथा थाइराइडको निःशुल्क परीक्षण गरिएको थियो।
धनगढी नेत्रालयको प्राविधिक टोलीले ५० जना सर्वसाधारणको आँखा परीक्षण गरेको थियो। परीक्षणका क्रममा मोतियाबिन्दुका बिरामीसमेत पहिचान गरिएको र उनीहरूलाई निःशुल्क शल्यक्रियाका लागि रेफर गरिएको बैतडी समाज महासचिव लोकेश भट्टले जानकारी दिए ।
१८ औं बृहत रक्तदान कार्यक्रममा सवै क्षेत्रका व्यक्तित्वहरुले उल्लासमय वातावरणमा रगत दान गरेका थिए। पहिलो पटक रक्तदान गर्ने रक्तदाता हरुलाई थप प्रेरित गर्न पोटली फुड्सको तर्फबाट रु ५ सय ५१ को कुपनको ब्यबस्था गरिएको थियो।

















