अत्तरिया – कैलाली र बैतडीबाट प्रहरीले फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लागूऔषध मुद्दामा जिल्ला अदालत कैलालीबाट १ महिना १५ दिन कैद सजाय तोकिएका जानकी गाउँपालिका–७ गौलौरी बस्ने २२ वर्षीय रबि कुमाल थारुलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले शुक्रबार उनलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।

त्यसैगरी, उच्च अदालत पाटनको २०७९ फागुन २६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ३ दिन कैद सजाय र ९ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएका पुर्चौंडी नगरपालिका–५ कुवाकोट बस्ने ३७ वर्षीय सुमित कुमार कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पाटन बैतडीबाट खटिएको टोलीले शुक्रबार उनलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।

















