काठमाडौं – वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौं विश्वविद्यालय (केयू)बीच एपीआई गर्ने कार्य सम्पन्न गरेको हो ।

योसँगै विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्नेछन् । साथै, सम्पूर्ण प्रक्रिया पूरा भएपछि आफ्नो प्रमाणपत्र आफैँले प्रिन्ट गरी प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।
दुवै विश्वविद्यालयसँग अन्तरआबद्धता हुनुभन्दा अगाडि आवेदकले आवेदन दिइसकेपछि आवेदकले राखेको नागरिकताको विवरण गृह मन्त्रालयसँग अन्तरआवद्धता भएको ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट’ (सीआइएमएस) मा भेटिएको अवस्थामा र आवेदकले राखेको एनईबीको रजिस्ट्रेसन नम्बर, जन्ममिति विवरणको आधारमा एनईबीसँग अन्तरआवद्धता भएको सिस्टमबाट प्रमाणपत्र देखिएमा आवेदक विवरणहरू रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनु नपर्ने भएको छ ।

















