खाेज्नुहाेस

निर्वाचनका लागि बैतडीमा २ हजार ७ सय बढी सुरक्षाकर्मी परिचालन

Image

बैतडी– फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा २ हजार ७ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षा योजना अनुसार जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी करिब २ हजार ७३४ सुरक्षाकर्मी परिचालन गरिएको हो ।

navjiwan hospital

जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जिल्लामा निर्वाचनलाई सुरक्षित र भयरहित वातावरण बनाउने कार्य गरिएको बताए । उनले जिल्लाभरी निर्वाचन सुरक्षाका लागि संयुक्त गस्ती सञ्चालनमा रहेको बताए । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा योजना अनुसार काम गरिरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । निर्वाचनको समयमा हुन सक्ने विभिन्न अवाञ्च्छित गतिविधि रोक्न र निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था मजबुत बनाएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

attariya hospital

जिल्लामा निर्वाचन सुरक्षाका लागि ६५३ जना नेपाल प्रहरी र १ हजार ३७१ जना निर्वाचन प्रहरी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक दिपककुमार रायले बताए । यस्तै जिल्लाका विभिन्न २१ ठाउँमा बेस बनाएर ३१० जना सशस्त्र प्रहरी परिचालन गरिएका सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले बताए । यस्तै जिल्लाका १० ओटै पालिकामा बेस क्याम्प खडा गरेर ४ सय नेपाली सेना परिचालन गरिएको श्रीबक्स गुल्मका गुल्मपति, सेनानी पुष्प लामाले जानकारी दिए । आवश्यकता अनुसार सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गर्नुका साथै एक्लाएक्लै गस्ती समेत सञ्चालन गरिरहेका प्रहरी नायव उपरीक्षक रायले बताए ।

बैतडीमा १२९ मतदानस्थल र एक अस्थायीसहित २१५ ओटा मतदान केन्द्र रहेका छन् । सुरक्षाको दृष्टिकोणले बैतडीका १२९ मतदान स्थलमध्ये ३३ वटा अतिसंवेदनशीलको सूचीमा रहेका छन् । यस्तै, २८ वटा मतदान स्थल संवेदनशील र ६८ वटा मतदान स्थल सामान्य सूचीमा रहेका छन् । प्रतिनिधि सभा सदस्यका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी मैदानमा रहेका छन् । बैतडीमा १ लाख ५६ हजार ३७२ जना मतदाता रहेका छन् । जसमा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना अन्य मतदाता रहेका छन् ।