धनगढी – सुदूरपश्चिममा सशस्त्र प्रहरीले चुनाव लक्षित सुरक्षा योजना तयार पारेको छ । सशस्त्रले प्रदेशका १६ वटै निर्वाचन क्षेत्रका लागि सुरक्षा योजना तयार पारेको हो । जसअनुसार २१ गतेदेखि सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) को कमान्डमा प्रत्येक निर्वाचन क्षेत्रमा आधार शिविर तयार गरिने सशस्त्र प्रहरी बल ७ नम्बर वैद्यनाथ बाहिनीले जनाएको छ ।
सबै क्षेत्रमा फागुन ६ गतेबाट छुट्टै मोवाइल टोली, सबै क्याम्पमा डीएसपीको कमान्ड बाहिनीस्तरीय रिजर्व टोली, निर्वाचन विरोधि गतिविधी रोक्न अनुगमन टोली समेत खटाउने सशस्त्र प्रहरी बल ७ नम्बर वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले जानकारी दिए । उनले ५ हजार १०० निर्वाचन प्रहरीसहित निर्वाचन सुरक्षामा सशस्त्र प्रहरी परिचालन हुने बताए ।


सुदूरपश्चिममा सवारी साधनको अपुग भएपछि प्रधानकार्यालयको निर्देशनमा भाडामा लिएर भए पनि सबै क्षेत्रमा मोवाइल गस्ती बढाइने उनले बताए । प्रत्येक क्षेत्रमा नेपाली सेनाको सहयोगमा मतदान अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा अन्य निर्वाचन सम्बन्धी कार्यालयहरूमा सुरक्षा टोली खटाइएको छ ।
प्रत्येक मतदान क्षेत्रमा सशस्त्र प्रहरीको डीएसपीको कमान्डमा नेपाली सेनाको मुख्य फोर्स व्यवस्था गरिएको छ । निर्वाचनलाई लक्षित गर्दै स्ट्राइक टोली र मोबाइल टोलीहरू सञ्चालनमा ल्याइएको छ ।
विशेष गरी पहाडी तथा हिमाली क्षेत्रमा मोबाइल टोलीको संख्या बढाइएको छ । सशस्त्र प्रहरीका सबै युनिटमा रिजर्भ क्यूआर टोली र क्यूआर टोली खटाइएका छन् । यी टोलीहरूलाई डीएसपी र इन्स्पेक्टरको प्रत्यक्ष कमान्ड दिइएको छ ।
बाहिनीको राज्यस्तरीय अपरेसन बेस हेडक्वार्टरमा मोबाइल तथा रिजर्भ टोलीहरू तयारी अवस्थामा राखिएको छ । अन्य पहाडी तथा दुर्गम जिल्लाहरूमा निरन्तर अनुगमन भइरहेको छ ।














