बैतडी – मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचासंहिताबारे नागरिक समाज, उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिसँग सामूहिक छलफल गरेको छ । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले बैतडीका उम्मेदवार, नागरिक समाज र दलका प्रतिनिधिसँग छलफल गरेको हो ।
कहीँकतै अन्जानमा आचारसंहिता उल्लंघन भएको भए अगामी दिनमा यस्ता घटना नदोहोरिने र आचारसंहिता पूर्ण रूपमा पालना गर्ने उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिले सामूहिक प्रतिबद्धता जनाएका छन् ।


आचारसंहिता उल्लंघनका सूचना आउन थालेकाले सबैले आचारसंहिता पालना गर्नुपर्ने मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिलाई आग्रह गरे । ‘फोन गरेर खालि उल्लघंन भयो भन्ने मात्रै आउँछन्,’ उनले भने, ‘आचारसंहिता विपरीतका काम भएको भेटिए प्रमाणसहित जानकारी दिऊँ ।’
आर्थिक विषयको आचारसंहितासम्बन्धी अनुगमन समितिका संयोजक समेत रहेका कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरका प्रमुख वासुदेव भण्डारीले सबै उम्मेदवारले निर्वाचन खर्चका लागि छुट्टै खाता खोलेर त्यसैबाट खर्च गर्नुपर्ने बताए ।
सबैले आ–आफ्नो स्थानबाट आचारसंहिता पूर्ण पालना गरेमा निर्वाचन निष्पक्ष र मर्यादित हुने भएकाले यसमा सबैले सहयोग गरिदिनु पर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले आग्रह गरे । प्रमाणसहित आचारसंहिता उल्लघनका सूचना आए कारबाही गरिने पनि उनले बताए ।

















