खाेज्नुहाेस

आचारसंहिताको पूर्ण पालना गर्न निर्वाचन कार्यालयको आग्रह

Image

बैतडी – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न जिल्ला निर्वाचन कार्यालय बैतडीले आग्रह गरेको छ ।

राजनीतिक दल र उम्मेदवारहरु प्रचारप्रसारमा रहेका बेला शिक्षक÷कर्मचारीहरु समेत सहभागी भएको भन्ने सूचना प्राप्त भएकाले त्यसो नगर्न आग्रह गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले बताए ।

attariya hospital
navjiwan hospital

शिक्षक÷कर्मचारीहरुले राजनीतिक दलको प्रचारप्रसारमा सहभागी हुने, सामाजिक सञ्जालमा हुने राजनीतिक बहस, फोटो, भिडियोहरु पोष्ट गर्ने, लाइक गर्ने, कमेन्ट गर्ने लगायतका कामहरु आचारसंहिता विपरीत हुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएमा कानुन बमोजीम कारवाही हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आगामी चुनावका लागि बैतडीमा अहिले उम्मेदवारहरुले घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । बैतडीमा एक जना स्वतन्त्रसहित ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

बैतडीमा नेकपा (एमाले) बाट पूर्व उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी, नेपाली कांग्रेसबाट नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, नेपाली कम्युनिस्ट पार्टीबाट पूर्व जिल्ला सभापति परमानन्द भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भूपेनबहादुर चन्द र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हरिमोहन भण्डारी चुनावी मैदानमा रहेका छन् ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट रामसिंह कुँवर, जनता समाजवादी पार्टी नेपालबाट आनसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, आमजनता पार्टीबाट विसनसिंह बोहरा, श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेय र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्त चुनावी मैदानमा रहेका छन् ।