बैतडी – सशस्त्र प्रहरी बल (एपीएफ) को सुदूरपश्चिम प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीे ‘उत्कृष्ट गुल्म’ र गुल्म प्रमुख डिएसपी जंगबहादुर कुँवर प्रदेशकै उत्कृष्ट कमाण्डर घोषित भएका छन् ।

सशस्त्र प्रहरीले २०८२ मा प्रदेशका ६ गुल्मले सम्पादन गरेको कामको मूल्यांकनका आधारमा बैतडी उत्कृष्ट गुल्म बन्न सफल भएको हो । यस्तै प्रदेशभरीका गुल्म कमाण्डरहरु मध्ये डिएसपी कुँवर उत्कृष्ट कमाण्डर घोषित भएका हुन् ।

सीमा सुरक्षा, सीमापार अपराध रोकथाम तथा नियन्त्रण, आन्तरिक प्रशासनिक, राजस्व संकलन, भन्सार छली नियन्त्रणलगायत कामको मूल्यांकनका अधारमा उक्त गुल्म उत्कृष्ट घोषित भएको हो । यस्तै संगठन परिचालन, कमाण्डिङ क्षमता, नागरिक–सशस्त्र प्रहरी सम्बन्ध सुदृढीकरण तथा सीमा अनुगमनमा उल्लेखनीय कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा कुँवरलाई उत्कृष्ट कमाण्डर घोषणा गरी पुरस्कृत गरिएको हो ।
२५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश धनगढीमा आयोजित कार्यक्रममा ५१ नं गुल्म बैतडी र डिएसपी कुँवरलाई प्रदेशकै उत्कृष्ट गुल्म र कमान्डर घोषणा गरी पुरस्कृत गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीेले जनाएको छ ।
















