बैतडी– महिनौदेखी प्रमुख प्रशासकिय अधिकृत नहुँदा यहाँका दुई पालिकाको कामकाज ठप्प बनेको छ । बैतडीको सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुँदा यहाँको कामकाज ठप्प जस्तै बनेको हो ।
सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको सरुवा भएयता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको छ । गएको पुस ६ गते मन्त्रालयले सुर्नयामा खगेन्द्र भारतीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको थियो । तर उनको गाउँपालिकामा हाजिर नहुँदै जिल्ला निर्वाचन कार्यालय बैतडीमा सरुवा गरिएको थियो ।


पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक काम रोकिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा सबै काम प्रभावित भएका उनले बताए । यस्तै कात्तिक अन्तिम साता मन्त्रालयले पञ्चेश्वर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीको सरुवा बैतडीकै मेलौली नगरपालिकामा गरेपछि पञ्चेश्वर प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको छ । सो पालिकामा प्रमुख प्रशासकिय अधिकृत पठाईएको भएपनि हाजिर नहुँदा समस्या जस्ताको तस्तै रहेको पालिकाले जनाएको छ ।
दुई महिना बित्दा पनि मन्त्रालयले प्रशासकीय अधिकृत नपठाएपछि मन्त्रालयमै धर्ना बस्ने गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले चेतावनी दिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिरसिंह भण्डारीलाई पुस १४ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको छ । तर मन्त्रालयले पठाएको १९ दिन पुग्दा पनि भण्डारी पालिकामा हाजिर नभएका गाउँपालिका अध्यक्ष चन्दले बताए ।
आफू विदामा रहेकाले अहिलेसम्म मन्त्रालयले सरुवा गरेको जानकारी नपाएको पञ्चेश्वरमा खटाएका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । भण्डारी अहिले सहरी विकास मन्त्रालय अन्तर्गतका कार्यालयमा शाखा अधिकृत छन् । भण्डारीले यहाँ आउन नचाहेकाले विभिन्न वाहाना गरेको अध्यक्ष चन्दको आरोप छ ।
















