खाेज्नुहाेस

पञ्चेश्वरले पाएन हाकिम, मन्त्रालय धाउदै अध्यक्ष

Image

बैतडी – पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द प्रमुख प्रशासकीय अधिकृतको खोजीमा एक महिनादेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय धाइरहेका छन् ।

कात्तिक अन्तिम साता मन्त्रालयले पञ्चेश्वर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीको सरुवा गरेपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो ।

attariya hospital
navjiwan hospital

प्रमुख प्रशासकीय अधिकृतविहीन भएपछि गाउँपालिकाको कामकाज ठप्प भएको गाउँपालिकाका अध्यक्ष चन्दले बताए । मन्त्रालयले गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि महिना दिनदेखि मन्त्रालय धाइरहेको गाउँपालिका अध्यक्ष चन्दले बताए । ‘प्रमुख प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गर्दा मन्त्रालयका कर्मचारी ध्यानै दिँदैनन्,’ उनले भने, ‘उता पालिकामा प्रशासकीय अधिकृत नहुँदा सेवाग्राहीका कामकाज ठप्प छन् ।’

सरुवा गर्दा पालिकाको अनुमतिसम्म नमाग्ने मन्त्रालयका कर्मचारीलाई पालिकामा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गरिदिन दिनदिनै अनुरोध गर्दा महिना पुगेको उनले बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाजिर भएको दुई महिना नपुग्दै प्रमुख प्रशासकीय अधिकृत धामीको सरूवा गरिदिएको हो । मन्त्रालयले धामीलाई कात्तिक अन्तिम सतातिर बैतडीकै मेलौली नगरपालिकामा सरुवा गरेर पठाएको हो ।

गाउँपालिकाको सबै कामकाज ठप्प भएकाले यथाशीघ्र प्रमुख प्रशासकीय अधिकृत पठाउनु पर्ने अध्यक्ष चन्दको माग छ । दुईदिनभित्र प्रमुख प्रशासकीय अधिकृत नपठाए मन्त्रालयमै आमरण अनसन बस्ने अध्यक्ष चन्दले चेतावनी दिएका छन् । जेन–जी सरकारमा पनि सामान्य प्रशासन मन्त्रालयका कर्मचारीको रबैया नफेरिएको उनको गुनासो छ ।