खाेज्नुहाेस

चिसोबाट बचौँः सजगतामै स्वास्थ्यको सुरक्षा

Image
हिउँदको आगमनसँगै चिसोको प्रभाव तीव्र बन्दै गएको छ । विशेषतः सुदूरपश्चिमका तराई क्षेत्रहरूमा चिसोले जनजीवन प्रभावित बनाएको छ । चिसोका कारण सामान्य असहजता देखि गम्भीर स्वास्थ्य समस्या र ज्यानसम्म जाने जोखिम बढ्दो छ । यस्तो अवस्थामा व्यक्तिगत तथा सामूहिक सजगता अत्यावश्यक बनेको छ ।
attariya hospital
चिसो मौसमले सबै उमेर समूहलाई असर गरे पनि ज्येष्ठ नागरिक, बालबालिका र दीर्घ रोगीहरू सबैभन्दा बढी जोखिममा पर्छन् । कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिमा रुघाखोकी, खोकी, दम, निमोनिया तथा अन्य श्वासप्रश्वास सम्बन्धी रोगको सम्भावना उच्च हुन्छ । बालबालिकामा चिसोका कारण भाइरल सङ्क्रमण, निमोनिया र डायरियाजस्ता समस्या देखिन सक्छन् भने वृद्धवृद्धामा सामान्य रुघाखोकीले पनि जटिल रूप लिन सक्छ ।
जाडोयाममा पानी कम पर्ने भएकाले वातावरणमा धुलो, भाइरस र ब्याक्टेरिया बढी सक्रिय हुन्छन् । धुम्रपान गर्ने, धुलो धुवाँमा बढी हिँडडुल गर्ने तथा पुराना रोग भएका व्यक्तिमा समस्या थप जटिल बन्छ । सङ्क्रमण समयमै नियन्त्रण गर्न नसक्दा दीर्घकालीन रोगको रूप लिने र जीवनभर औषधि सेवन गर्नुपर्ने अवस्था आउन सक्छ ।
navjiwan hospital
यस्तो जोखिमबाट बच्नका लागि न्यानो कपडा लगाउने, टोपी, मफलर, पन्जा र मोजाको प्रयोग अनिवार्य गर्नुपर्छ । पोसिलो र तातो खानेकुरा सेवन गर्ने, पर्याप्त तातोपानी पिउने र बिहान नियमित शारीरिक व्यायाम गर्ने बानी विकास गर्नु जरुरी छ । जाडोमा कम हिँडडुल र बढी खानपानले तौल बढ्ने सम्भावनालाई पनि ध्यान दिनुपर्छ ।
आगो ताप्दा विशेष सावधानी अपनाउन आवश्यक छ । बन्द कोठामा आगो बाल्दा कार्बन मोनोअक्साइड जम्मा भई टाउको दुख्ने, निसास्सिने, बेहोस हुने र ज्यानसमेत जाने खतरा हुन्छ । त्यसैले झ्याल ढोका बन्द गरेर आगो बाल्ने बानी त्याग्नुपर्छ । हिउँदको सुरुवातसँगै अपनाइने साना सतर्कताले ठुला जोखिमबाट जोगिन सकिन्छ ।
हिउँदको सुरुवातसँगै अपनाइने साना सतर्कताले ठुला जोखिमबाट जोगिन सकिन्छ । चिसोबाट आफू पनि बचौँ र परिवार तथा समुदायलाई पनि सुरक्षित राख्न सामूहिक सचेतना फैलाऔँ । समयमै अपनाइने सावधानी, सही बानी र जिम्मेवार व्यवहारले मात्र चिसो मौसममा सुरक्षित, स्वस्थ र सन्तुलित जीवन सुनिश्चित गर्न सकिन्छ ।