खाेज्नुहाेस

लेखराज भट्टको क्षेत्रमा एमालेलाई अर्को धक्का

Image

अत्तरिया – प्रतिनिधि सभाको चुनाव नजिकिँदै गर्दा कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेलाई अर्को धक्का लागेको छ । २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा यस क्षेत्रबाट हारको स्वाद चाखेको एमालेलाई त्यसपछि झन् एक पछि अर्को धक्का लागिरहेको छ ।

निर्वाचन पछि २०८१ मंसिर १२ गते ठुलो समूह साथमा लगेर यसअघि एमालेबाटै प्रदेश सभामा निर्वाचित भइसकेका कृष्ण सुवेदीले पार्टी परित्याग गरेका थिए भने हालै एमालेबाट गोदावरी नगरपालिकाको मेयरमा निर्वाचन लडिसकेका गोकर्ण भट्टले पनि एमालेको साथ छोडेका छन् । उनी आइतबार मात्रै एक समूहलाई साथमा लगेर रास्वपा प्रवेश गरेका छन् । गोकर्ण भट्ट एमालेको उपमहासचिव समेत रहेका लेखराज भट्टका भाइ हुन ।

attariya hospital

सुदूरपश्चिमका इन्चार्ज समेत रहेका लेखराज भट्ट कैलाली क्षेत्र नम्बर ४ को राजनीतिको केन्द्रमा रहने र लगातार यस क्षेत्रबाट चुनाव लड्ने उम्मेदवार हुन । उनी २०७४ सालको निर्वाचनमा प्रतिस्पर्धी भन्दा १० हजार बढी मत ल्याएका विजयी भएका थिए । त्यतीबेला उनी नेकपा माओवादी केन्द्रबाट चुनाव लड्दा एमालेको पनि साथ पाएका थिए । एमाले माओवादीको गठबन्धन भएको भएको चुनावमा लेखराज भट्ट ३१ हजार ३५९ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिल कुमार भण्डारीले २० हजार ९६० मत पाएका थिए । एमालेले भने उम्मेदवार उठाएको थिएन ।

२०७९ को प्रतिनिधि सभामा भने एमालेबाटै चुनाव लडेका लेखराज भट्ट साढे ८ हजार कम मत ल्याएर पराजित हुन पुगे । ०७९ को निर्वाचनमा कांग्रेस, माओवादीको गठबन्धन बनेको थियो । सो निर्वाचनमा कांग्रेसका उम्मेदवार वीर बहादुर बलायर २६ हजार २७५ मतका साथ विजयी हुँदा एमालेका लेखराज भट्टले २२ हजार ६६३ मत पाएका थिए ।

navjiwan hospital

०७९ को प्रतिनिधि सभामा कैलाली क्षेत्र नम्बर ४ मा एमाले पराजित हुनुको कारणका रूपमा एमाले विभावित हुन, विभाजित भएको समाजवादी र अघिल्लो निर्वाचनमा साथ दिएको माओवादी कांग्रेसलाई साथ दिँदा एमाले यो क्षेत्रमा कमजोर बनेको आकलन गरिएको थियो । ०७९ को निर्वाचनमा ०७४ को निर्वाचनमा जितेका क्षेत्र नम्बर ४ का प्रदेश तर्फका २ सिटमा पनि एमालेका उम्मेदवार पराजित भएका थिए ।

विभाजन पछि यस क्षेत्रमा कमजोर बनेको एमालेलाई २०७९ को निर्वाचन पछि पनि एक पछि अर्को धक्का लागिरहेको छ । एक वर्ष अघि एमालेको प्रदेश कमिटी सदस्य रहेका कृष्ण सुवेदीले ३५८ जना सहित पार्टी परित्याग गरेको घोषणा गरेका थिए भने आइतबार (पुस ६ गते) मात्रै एमाले प्रदेश सचिवालय सदस्य रहेका गोकर्ण भट्टले ४६ जना सहित पार्टी परित्याग गरेका छन् ।

गोकर्ण भट्ट कैलाली क्षेत्र नम्बर ४ को ठुलो पालिका गोदावरी नगरपालिकाबाट २ पटक मेयरको चुनाव लडिसकेका छन् । उनी मेयरमा विजयी नभए पनि प्रतिस्पर्धी मत ल्याउँदै आएका छन् ।

२०७४ सालको निर्वाचनमा नेकपा माओवादीबाट चुनाव लडेर ६ हजार ४८१ मत सहित तेस्रो भएका उनी २०७९ को निर्वाचनमा नेकपा एमालेबाट चुनाव लडेर ११ हजार २२४ मत सहित दोस्रो भएका थिए । गोकर्ण भट्ट गोदावरी क्षेत्रमा आफ्नो बलियो राजनीतिक प्रभाव पार्दै आएका छन् ।

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट बलियो उम्मेदवारको दाबेदार समेत रहेका लेखराज भट्टका भाइले नै साथ छोडेपछि विपक्षी खेमा भने उत्साहित भएको छ । गोकर्ण भट्टलाई पार्टी प्रवेश गराउन अत्तरिया पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सचिवालय सदस्य दीपक बोहराले एमाले नेतृत्वले जेनजी आन्दोलन पछि गल्ती समेत नस्विकारेका कारण गोकर्ण भट्ट लगायत व्यक्ति रास्वपामा प्रवेश गरेको बताए । उनले गोकर्ण भट्ट जस्ता व्यक्ति रास्वपामा आउँदा रास्वपा प्रदेशमै ठुलो बन्नेमा कसैले रोक्न नसक्ने बताए । रास्वपामा प्रवेश गरेपछि उनी चुनाव लड्छन् या लड्दैनन्, लडे कुन तहको चुनाव लड्छन् भन्ने टुङ्गो भने लागेको छैन । रास्वपा गोदावरी नगर सभापति दीपक भट्टले पार्टी प्रवेश गरेका गोकर्ण भट्ट सँग चुनाव लड्ने बारेमा कुनै सहमति छलफल नभएको बताए ।

यद्यपि जेन जी आन्दोलन पछि हुन गइरहेको चुनावमा अव भने यो क्षेत्रमा पुरानै समीकरण अनुसार नजिता आउला या नयाँ राजनीतिक प्रभाव पर्ला भन्ने बारेमा भने हेर्न बाकी नै छ । यस क्षेत्रमा फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि एमालेले निर्वाचन केन्द्रित गतिविधि नगरे पनि अन्य दल कांग्रेस, नेकपा, रास्वपा भने आफ्ना उम्मेदवार छनोटको प्रक्रिया सुरु गरिसकेका छन् ।