खाेज्नुहाेस

बैतडीमा चिया खेतीका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन

Image

बैतडी – बैतडीको सुर्नया गाउँपालिका वडा नं ५, ६ र ७ का उच्च क्षेत्रमा चिया खेतीका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया विकास अधिकृत गौरव लुइँटेलसहितको टोलीले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको हो ।

गाउँपालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा उच्च क्षेत्रमा चिया खेतीको सम्भाव्यता अध्ययन गर्ने कुरा उल्लेख गरेको र सोही अनुसार तीन वडाका उच्च क्षेत्रमा प्राविधिक सहितको टोलीले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।

attariya hospital
navjiwan hospital

नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डका दुई जनासहित स्थानीयहरुको सहभागितामा सुर्नया गाउँपालिका वडा नं ५ को धुलिधार र रडीगाउँ, वडा नं ६ को धुलिधार,कलालपसे, जित्कीजुँवाड र मुसे तथा वडा नं ७ को जित्कीजुँवाड, दाङल लगायतका क्षेत्रमा प्रारिम्भक अध्ययन गरिएको हो ।

केही ठाउँहरुमा स्थानीयहरुसँग छलफलसहित चियाखेतीको सम्भावनाका बिषयमा बहस गरिएको छ भने केही ठाउँमा भौगोलिक अवस्थाको अध्ययन गरिएको चिया खेती परिचालन तदर्थ समितिका संयोजक कृष्ण बिष्टले बताए ।

चिया विकास बोर्डको टोलीले सम्भावित स्थानहरुको माटो परीक्षणका लागि लगेको र केही दिनभित्रै प्रतिवेदन आउने बिष्टले बताए । पहाडी क्षेत्रमा खेतीपाती छोडेर जमीन बाँझो रहेको अवस्थामा चिया खेती वैकल्पिक खेतीको रुपमा फस्टाउन सक्ने सम्भाव्यता रहेको बिष्टले बताए । यसका लागि सबै पक्षसँग छलफल भइरहेको उनले बताए ।