बैतडी– बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ हल्दुविनायकका ४१ वर्षीय गम्भीर चन्द भरुवा बन्दुकसहित पक्राउ परेका हुन ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोसाकको प्रहरी टोली र हल्दुविनायकको प्रहरी चौकीको समन्वयमा चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूका अनुसार शुक्रबार दिउँसो पञ्चेश्वर गाउँपालिका–४ कै हल्दुविनायकमा पर्ने महाकाली करिडोर सडक खण्डबाट चन्दलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको हो ।
चन्दका साथबाट एक थान बन्दुक सहित दुई डब्बा बारुद, चार बट्टा ठुलो छर्रा, ३१ वटा सानो छर्रा र एक बट्टा केभ नियन्त्रणमा लिइएको बडूले बताए । पक्राउ परेका चन्दलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















