बैतडी– बैतडीको पाटन बजारमा निर्माणाधीन बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । १० वर्ष अघि निर्माण कार्य सुरु गरिएको सो बसपार्क हालसम्म पनि सञ्चालनमा आउन नसकेको हो ।

पाटनबाट पञ्चेश्वर, दार्चुला, बझाङ, डडेल्धुरा र राजधानी काठमाडौँ सम्म यातायात सञ्चालन गर्ने उद्देश्यले आर्थिक वर्ष २०७१÷०७२ मा निर्माण कार्य सुरु गरिएको भएपनि सञ्चालनमा नआउँदा यातायात व्यवसायी मर्कामा परेका छन ।

मध्यपहाडी लोकमार्गको १० वटा नयाँ सहर मध्येको पाटन नयाँ सहर आयोजना कार्यालयले हाल सम्म करिब रु. ३ करोड खर्च गरी सके पनि निर्माण कार्य सम्पन्न हुन नसक्दा सञ्चालनमा आउन नसकेको प्राविधिक दिनेश ऐरले बताए । ठेकेदारहरूले कम दर रेटमा ठेक्का लिने र लक्ष्य अनुसारको निर्माण कार्य समयमै निर्माण नगर्दा अझै ५० लाख बराबरको निर्माण कार्य बाँकी रहेको उनले बताए ।
टिकट काउन्टर, शौचालय र प्रतीक्षालय समेत निर्माण भईसकेपनि पार्किङ स्थलको निर्माण सम्पन्न हुन नसक्दा यातायात व्यवसायीहरूले गुनासो गर्ने गरेको बजार व्यवस्थापन समिति पाटनका अध्यक्ष खेमराज भट्टले बताए । हाल मध्य पहाडी लोकमार्ग भएर दैनिक दुई दर्जन जति विद्युतीय गाडीहरू ओहोर दोहोर गर्ने गरेकाले बसपार्क सञ्चालन गरी स्थानीय तहले चार्जीङ स्टेसन राख्नु पर्ने उनको भनाई छ ।

















