बैतडी– बैतडीको पाटन नगरपालिका–६ का चालक बिरभान बिष्टको हत्यामा संलग्न चार जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत बैतडीले बिष्टको हत्याम संलग्न ४ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

गाउँकै बुहारी नाता पर्ने भागरथीको घरमा २०८१ असार १ गते बिष्टको हत्या गरी राखेको र त्यसको दुई दिनपछि पाटन–पञ्चेश्वर सडकखण्डको घङाल खोलमा शव फालिएको थियो । असार ३ गते बिष्टको शव सो स्थानमा फेला परेको थियो । २०८१ असार २३ गते भएको थुनछेक बहसमा हत्यामा संलग्न पाँचै जनालाई पुर्वपक्षका लागि कारागार चलान गरिएको थियो ।

२०८१ असार १ गते चालक बिष्टको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालत बैतडीका श्रेस्तेदार विष्णुराज पन्तले जानकारी दिए । अदालतले हत्यामा संलग्न मृतक बिरभानकी बुहारी नाता पर्ने शिक्षिका समेत रहेकी भागरथी बिष्ट, पाटन–६ कै ३८ वर्षीय भरत मोहन बिष्ट, पाटन–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र पाटन–६ का २६ वर्षीय आशिष पहरीलाई जन्मकैदको फैसला सुनाएको हो भने अर्का १८ वर्षमुनिका किशोरलाई १६ वर्षको कैद सजाय सुनाएको हो । २६ गतेका दिन उनीहरुलाई जन्म कैदको फैसला सुनाइएको जिल्ला अदालत बैतडीले जनाएको छ ।


















