दार्चुला– दार्चुलामा जिप दुर्घटना भएको छ । बिहिबार बिहान करिब साढे ८ बजेतिर जिल्लाको नौगाड गाउँपालिकास्थित होपरीगाडतर्फ गईरहेको ग ३ च ३३५१ रातो नम्बर प्लेटको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा १० जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक छत्रबहादुर रावतले जानकारी दिए । घाइतेमध्ये चार जना गम्भीरको अवस्था गम्भीर रहेको उनले बताए ।


उनका अनुसार दुर्घटनामा परी सोही गाउँपालिका–३ की २५ वर्षीया गर्भवती महिला पार्वती टमटा, वडा नम्बर ४ का २६ वर्षीय मोहन ठगुन्ना, नौगाड गाउँपालिका–४ का ३५ वर्षीय उमेश ठगुन्ना र मार्मा गाउँपालिका– ५ की १७ वर्षीया अप्सरा महता गम्भीर घाईते भएका छन ।
यसैगरी, नौगाड गाउँपालिका–४ का ४० वर्षीया रम्भा महता, १२ वर्षीय राम महत र श्याम महता, १४ वर्षीया कान्छी महत, ७२ वर्षीया गम्बा महता र अपिहिमाल गाउँपालिका–४ की १९ वर्षीय लक्ष्मी कार्की सामान्य घाइते भएका छन ।
चालक लाकेन्द्रसिंह ठगुन्नाले चलाएको गाडी चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको अनुमान गरिएको छ । गाडीमा ११ जना सवार रहेको बताइएको छ । गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

















