बैतडी– बैतडीमा जंगली जनावरबाट मकैबाली जोगाउन किसानहरुलाई सकस हुने गरेको छ । जिल्लाका अधिकांश स्थानहरुमा लगाएको मकैबाली जंगली जनावरले नष्ट गर्न थालेपछि बाली जोगाउन किसानलाई समस्या भएको हो ।

दिउँसोको समयमा बाँदर र रातिको समयमा जंगली बँदेल, भालु, दुम्सी लगायतका जंगली जनावरबाट मकैबाली जोगाउन मुस्किल भएको पुर्चौंडी नगरपालिका–२ महादेवस्थानका पुष्कर बोहराले बताए । उनले दिनरात बालीको रेखदेखका लागि बस्नुपर्ने अवस्था आएको बताए ।

जिल्लाको सुर्नया गाउँपालिका –८ दोरामा जंगली बँदेलले मकैबाली सखाप पारेको स्थानीय प्रताप मडैले बताए । उनले टहरा बनाएर पहरा दिँदा समेत मकैबाली जोगाउन समस्या भएको बताए । .उनले बथानसहित जंगली बँदेल बारीमा आउने गरेकाले थप समस्या निम्तिएको बताए । जिल्लाको दशरथचन्द नगरपालिकाका विभिन्न स्थानमा पनि जंगली जनावरले मकैबाली सखाप पारेको स्थानीयहरुले बताएका छन् ।
बाँदरले खेतबारीमा केही बाँकी नराखेको स्थानीय बिरबहादुर टेरले बताए । सुर्नयाका अधिकांश क्षेत्रमा बाँदर र जंगली बँदेलको आतंक रहेको छ । जिल्लाको तल्लोसोराड क्षेत्रमा पनि जंगली बँदेलबाट मकैबाली जोगाउन मुस्किल भएको किसानहरुले बताएका छन् ।



















