काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा पट्टीमा हालैको सैन्य अपरेशनका क्रममा तीन इजरायली बन्धकहरूको शव फेला परेको जानकारी दिएका छन् । शनिबार प्राप्त शवहरूमा योनाटन समेरानो, ओफ्रा केइदार र स्टाफ सार्जेन्ट शाई लेभिनसन रहेका छन् ।
प्रधानमन्त्री नेतान्याहूले विज्ञप्ति जारी गर्दै उक्त कुराको पुष्टि गरेका हुन् । यस सफल अप्रेशनका लागि उनले आफ्ना कमाण्डरहरूलाई धन्यवाद पनि दिएका छन् ।


गएको वर्ष अक्टोबर ७ मा हमासको नेतृत्वमा इजरायलमाथि भएको आक्रमणपछि इजरायलले गाजामा सैन्य कारबाही थालेको थियो । उक्त हमलामा झण्डै १,२०० जनाको ज्यान गएको थियो भने २५१ जना बन्धक बनाइएका थिए । इजरायली सेनाका अनुसार हालसम्म गाजामा अपहरणमा परेकामध्ये ५४ जना अझै कैदमा छन्, जसमध्ये ३१ जनाको मृत्यु भइसकेको बताइएको छ ।
हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । ११ महिनाका लागि ’लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द शाह, सुनसरीका राजेशकुमार स्वरंकार, डोटीका राजन फुलारा, पदम थापा र सल्यानका प्रवेश भण्डारीको मृत्यु भएको थियो ।
उक्त आक्रमणका क्रममा हमासले एक नेपालीलाई बन्धक बनाएको थियो । हमासले कञ्चनपुरका विपिन जोशीलाई बन्धक बनाएको बताए पनि हालसम्म उनको अवस्था अज्ञात छ । सरकारले विभिन्न माध्यमबाट विपिन जोशीको बारेमा पत्ता लगाउन खोजे असफल रहँदै आएको छ । तर, सरकारले विपिनको रिहाइका लागि सक्दो पहल गरिरहेको बताउँदै आएको छ ।


















