खाेज्नुहाेस

शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित

Image

महेन्द्रनगर – शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयमा सुरु हुन लागेको विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ। सरकारले वैशाख २ देखि देशभर विद्यार्थी भर्ना अभियान थाल्ने तयारी गरे पनि आन्दोलनका कारण जिल्लाका अधिकांश विद्यालय बन्द छन्।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक महासंघको नेतृत्वमा गत चैत २० देखि आन्दोलन चलिरहेको छ। महासंघले शैक्षिक हड्तालसमेत घोषणा गरेपछि जिल्लाका विद्यालयहरूले सूचना जारी गर्दै आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्।

attariya hospital
navjiwan hospital

महेन्द्रनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज भट्टले विद्यालयको सम्पूर्ण शैक्षिक कार्य बन्द रहेको जानकारी दिए। ‘शिक्षकहरू आन्दोलनमा छन्, शैक्षिक गतिविधि सम्भव छैन,’ उनले भने।

त्यस्तै, शान्ति निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज ओझा र शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टले पनि माग सम्बोधन नभएसम्म विद्यालय बन्द रहने स्पष्ट पारेका छन्।

भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले शिक्षक आन्दोलनका कारण सबै सामुदायिक विद्यालय बन्द रहेकाले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न नसकेको बताए। सरकारले छिट्टै समाधान निकाल्नेमा आफूहरू आशावादी रहेको उनले जनाए।