खाेज्नुहाेस

कैलालीमा वनमा बसेका विदेशीलाई २४ घन्टा भित्र छाड्न सीडीओको निर्देशन

Image
file photo

धनगढी – कैलालीमा अनुमति बिना वन क्षेत्रमा बसेका एक सय भन्दा बढि विदेशी नागरिकलाई २४ घण्टाभित्र छाड्न निर्देशन दिईएको छ । घोडाघोडी नगरपालिका–९ को सिमली जंगलमा करीब हप्ता दिनदेखि भारत, अमेरिका, चिन लगायतका देशका नागरिकलाई त्यहीँबाट छोड्न निर्देशन दिईएको हो ।

रेन्बो फेमली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरुले कुनै पनि निकायबाट अनुुमति नलिएको पाइएपछि छाड्न निर्देशन दिईएको कैलालीका प्रमुुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए । उनले अनुमती नलिएकाले २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएको बताए ।

attariya hospital
navjiwan hospital

विदेशी नागरिक वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसीमा अस्वभाविक गतिविधी गर्ने जस्ता गुनासा आएपछि बिहीबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित सिमली जंगल क्षेत्रमा पुगेका प्रमुख जिल्ला अधिकारी हमालले २४ घण्टाभित्र गन्तव्यतर्फ जान निर्देशन दिएका थिए ।

निर्देशनअनुसार वन क्षेत्र छाडेर गन्तव्यतर्फ नलागेको प्रचलित कानुनबमोजिम कारवाही हुने चेतावनी समेत दिइएको छ ।

अनुगमनका क्रममा कुराकानी गर्दा उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई आफूहरु प्रकृतिमा रमाउने मान्छेहरु(नेचर लभर) भएको बताउँदै यसरी विभिन्न देशमा पुगेर बस्ने गरेको बताएका थिए । तर नेपाल सरकारका कुनै पनि निकायबाट अनुमति नलिएको पाइएकाले उनीहरुलाई जंगल क्षेत्र छाड्न स्थानीय प्रशासनले निर्देशन दिएको हो ।

स्थानीय प्रशासनले अनुमति बिना जंगल क्षेत्रमा बसोबास गरिरहेका विदेशी नागरिकलाई २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएपनि घोडाघोडी नगरपालिकाले भने संस्कृति आदानप्रदान गर्ने भन्दै स्वागत समेत गरेको पाइएको छ ।