बैतडी– बैतडीका पाँच वटा क्याम्पसहरुमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ३ वटा क्याम्पसहरुमा अनेरास्ववियु र २ वटा क्याम्पसमा नेविसंघ विजयी भएका छन ।
जिल्लामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ८ ओटा क्याम्पस रहेका भएपनि रौलाकेदार बहुमुखी क्याम्पसमा निर्वाचन भएको छैन । त्यसबाहेक पुर्चौंडी बहुमुखी क्याम्पसमा आज निर्वाचन हुँदैछ भने सिगास शिक्षा क्याम्पसमा विवाद भएको छ ।

स्ववियु निर्वाचन सम्पन्न भएका पाँच ओटा क्याम्पस मध्ये केही सहमति र केही चुनावमार्फत नयाँ नेतृत्व चयन गरिएको छ । पञ्चेश्वरस्थित नवप्रभात संयुक्त क्याम्पस कुलाउमा विद्यार्थी संगठनहरुबीच सहमतिका आधारमा अनेरास्ववियुकी सपना चन्द सर्वसम्मत सभापतिमा चयन भएकी छन् ।

सहमतीअनुसार १५ जनाको कार्यसमितिमा अनेरास्ववियुले सभापतिसहित ६ जना, नेविसंघले सचिवसहित ५ र अनेरास्ववियु क्रान्तिकारीले उपाध्यक्षसहित ४ जना लिएका क्याम्पस प्रमुख मोतीसिंह मंगोलाले जानकारी दिए ।
यस्तै दोगडाकेदार गाउँपालिकामा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट अनेरास्ववियुका नवीन कपाडी स्ववियु सभापतिमा निर्वाचित भएका छन् । यहाँ अखिल क्रान्तिकारी एक्लै चुनावी मैदानमा उत्रेको थियो ।
कपाडी एक सय मत ल्याएर सभापतिमा निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका सुरेन्द्र कार्कीले ५५ मत ल्याएका निर्वाचन संयोजक नरेन्द्रप्रसाद पन्तले बताए । शिवनाथ गाउँपालिकामा रहेको ग्राम प्रकाश बहुमुखी क्याम्पसमा भने नेविसंघको पुरै प्यानलले जित हात पारेको छ । नेविसंघबाट सभापति उम्मेदवार बनेका कविता साउँद नेतृत्वको पूरै प्यानल विजयी भएको ग्राम प्रकाश बहुमुखी क्याम्पसका प्रमुख महामलसिंह साउँदले बताए ।
सभापतिमा विजयी कविताले ३७ मत प्राप्त गर्दा अनेरास्ववियूबाट सभापतिका उम्मेदवार बनेका सरिता साउँदले २८ मत प्राप्त गरिन् । डिलाशैनी गाउँपालिका वडा नं ६ गोकुलेश्वरमा रहेको सेटिगाउँ बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका कृष्णसिंह रावल विजयी भएका छन् । सभापतिमा विजयी रावलले १ सय ३ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका रमेश मालले ८९ मत ल्याए । यहाँ नेविसंघ र अखिल क्रान्तिकारीले चुनावी तालमेल गरेका थिए भने अनेरास्ववियु एक्लै चुनावी मैदानमा उत्रेको थियो ।
यस्तै दशरथचन्द नगरपालिकामा रहेको शिक्षा क्याम्पस शाहीलेकको स्ववियु सभापतिमा अनेरास्ववियुका अक्बर चन्द निर्विरोध निर्वाचित भएका छन् । यो क्याम्पसमा अनेरास्ववियु बाहेक अन्य विद्यार्थी संगठनका कसैको पनि उम्मेदवारी नपरेपछि अनेरास्ववियुको पुरै प्यानल निर्विरोध निर्वाचित भएको क्याम्पस प्रमुख कैलाशकुमार कनौजियाले जानकारी दिए ।















