खाेज्नुहाेस

सीप मेलामा ग्राफिक डिजाईनिङ्ग सिक्ने युवामा छुट्टै उत्साह

Image

अत्तरिया – पछिल्लो समय ग्राफिक डिजाइनिङ्ग मानव जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ । अहिले डिजिटल होस या भौतिक सामान के प्रयोग गर्ने के नगर्ने भन्ने कुरा पनि ग्राफिक डिजाइनिङ्गको कलामा भर पर्न थालिसकेको छ । फलस्वरूप जीवनको अभिन्न अङ्ग बनिसकेको ग्राफिक डिजाइनिङ्ग सिक्न प्रति युवाहरूको चासो पनि बढ्दै गएको छ । ग्राफिक डिजाइनिङ्ग कोर्स विभिन्न अनलाइन प्लेटफर्मबाट पनि सिक्न सकिने भए पनि त्यसलाई व्यवहारिक र अझै प्रभावकारी बनाउन हाल धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार मेलामा ग्राफिक डिजाइनिङ्गको छुटै तालिम दिइरहेको छ ।

जसमा युवाहरूको विशेष आकर्षण देख्न सकिन्छ । वेब डिजाइनको काम गर्दै आएका धनगढी उपमहानगरपालिका – ७ का दिपेश चौधरीले ग्राफिक डिजाइनिङ्ग बिना वेव डिजाइन अधुरो भएकाले सिक्न आएको बताए । उनले जति राम्रो वेबसाइट बनाए पनि त्यसमा उत्कृष्ट ग्राफिक डिजाइनिङ्ग नभए आकर्षित हुन नसक्ने बताए ।

attariya hospital

‘म आइटी क्षेत्रको भएकाले म यूआई युएक्सको लागि ग्राफिक डिजाइनिङ्ग सिकिरहेको छु । ग्राफिक डिजाइनिङ्गमा अहिले फोटोसप, इलिस्टेटर र इन–डिजाइन सिकिरहेको छु’ उनले भने ‘मलाई वेबसाइट डिजाइनको लागि ग्राफिक डिजाइनिङ्ग चाहिएको थियो । त्यसका लागि अहिलेको कोर्सले निकै सहयोग गरेको छ ।’ उनले टिम वर्क गरेर ग्राफिक डिजाइनिङ्ग सिक्दा बेग्लै आनन्द आउने बताए । उनले भने ‘यहाँ हामीले टिम वर्क गर्न पाइरहेका छौ । टिम वर्कमा काम गर्न पाउन एकदमै राम्रो भइरहेको छ ।’ उनले एक महिने ग्राफिक डिजाइनिङ्ग सिकेपछि आफ्नै व्यवसाय गर्ने योजना रहेको बताए ।

ग्राफिक डिजाइनिङ्ग सिकिरहेका अछामको साँफेबगर नगरपालिका – ४ का रोहित थापाले ग्राफिक डिजाइनिङ्गको राम्रो स्कोप भएकाले सिक्न आएको बताए । उनले ग्राफिक डिजाइनिङ्ग सिकेपछि सजिलै रोजगारी पाउने आशा लिएको बताए ।

navjiwan hospital

‘बजारमा गएर कुनै जागिर पाउन सक्छु भन्ने आशा छ’ उनले भने ‘आफूमा सीप भयो भने आफ्नो व्यवसाय पनि गर्न सकिन्छ । यसको स्कोप धेरै राम्रो छ । अहिलेको समयमा कम्प्युटर सम्बन्धी ज्ञान नभएपछि काम गर्न सकिँदैन । अहिले यसको धेरै महत्त्व बढेको छ ।’ उनले पछिल्लो समय प्रतिस्पर्धा बढेसँगै ग्राफिक डिजाइनिङ्गको महत्त्व बढेको बताए । ‘पहिला मेल गर्न सिके पनि कम्प्युटर सिकेको मानिन्थ्यो । अहिले त्यही मेल पनि कसरी ग्राफिक डिजाइनिङ्ग गरेर आकर्षक बनाउन सकिन्छ भन्ने प्रतिस्पर्धा छ’ उनले भने ‘प्रतिस्पर्धाको बजारमा स्केल बढाउन आवश्यक भएकाले ग्राफिक डिजाइनिङ्ग सिकिरहेको छु ।’

ग्राफिक डिजाइनिङ्गकी प्रशिक्षक रेखा चौधरीले अहिले ग्राफिक डिजाइनिङ्ग गर्नेहरूको बजारमा राम्रो माग भएको बताइन् । उनले विद्यार्थीहरूलाई बजारको माग अनुसार होडिङ बोर्ड, कार्ड बनाउने, विभिन्न विज्ञापन डिजाइनिङ्ग गर्न सिकाइरहेको बताइन् ।

उनले ग्राफिक डिजाइनिङ्ग सिक्नु टुलको जानकारी मात्रै लिनु नभएर कसरी आकर्षक बनाउने भन्ने मुख्य चुनौती रहेको बताइन् । ‘अहिले टेक्नोलोजीको जमाना छ । अहिले ग्राफिक डिजाइनिङ्गको काम धेरैले गर्ने गरेका भए पनि त्यसलाई कसरी आकर्षित बनाउने भन्ने मुख्य चुनौती हो’ उनले भनिन् ‘डिजाइनिङ्ग धेरैले गरे पनि त्यो मार्केटमा बिकाउन सक्ने हुनपर्छ । हामीले विद्यार्थीहरूलाई त्यही स्केल विकास गर्ने प्रयास गरिरहेका छौ ।’

उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को जमान भए पनि ग्राफिक डिजाइनरको महत्व कम नभएको बताइन् । उनले कोर्स लामो भए पनि विद्यार्थीको चासो भएकाले हामीले थोरै समयमा धेरै सिकाउन सफल भएको बताइन् ।