काठमाण्डौँ । हरिवंश आचार्य अभिनित चलचित्र भूठानको टिजर सार्वजनिक भएको छ । ओ.एस.आर डिजिटलबाट सार्वजनिक भएको टिजरमा हरिवंश आचार्य नयाँ अवतारमा प्रस्तुत भएका छन् । अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश गम्भीर भाव र मुद्रामा देखिएका छन् जहाँ उनी आफनो देश फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको मानसिक रोगी भएको देखाईएको छ ।
एक दृश्यमा दयाहाङ र जोयश पाण्डेले अभिनय गरेका पात्रहरु दाजुभाइ रहेको र बाबुको लाशलाई गाड्ने कि जलाउने भनेर वादविवाद गर्दै गरेको देखिन्छ । अर्को एक दृश्यमा समलैंगिक सम्वन्ध राखेको थाहा पाएर आफ्नी छोरीलाई हकार्दै गरेकी आमा पात्रको भूमिकामा रिचा घिमिरे देखिएकी छिन् ।


हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्न पनि पहिलो पटक नेपाली निर्देशकले बनाएको फिल्ममा देखिएका छन । टिजरको अन्तमा महामृत्युन्जय मन्त्र पढदै गरेको धमिलो नांगो शरीर र तेरो पुर्नजन्म भयो भन्दै पानीमा चोपलेर निकालिएको अर्को शरीर देखाईएको छ ।
अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो चलचित्रमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।
चलचित्रले भुटानदेखि नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र थातथलो छोडेर विदेशमा बस्नुपर्दा आफनो जन्म घर हराएको सबै आप्रवासीको पिडा प्रस्तुत गरेको छ । यो चलचित्र २०८२ को वैशाख १२ बाट प्रदर्शनमा आउदैछ ।

















