खाेज्नुहाेस

नेपालका पाँच विश्वविद्यालय बिच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता

Image

धनगढी  – नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवर्द्धन गर्न आपसी समझदारी पत्र (MoU) मा हस्ताक्षर गरेका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, र लुम्बिनी प्राविधिक विश्वविद्यालयबिच भएको यो सम्झौताले संयुक्त अनुसन्धान, विद्यार्थी र शिक्षक आदानप्रदान तथा अन्तर विषयात्मक कार्यक्रमहरू मार्फत उच्च शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ ।

सम्झौता अनुसार, विश्वविद्यालयहरू पोस्ट ग्र्याजुएट तहका अनुसन्धान परियोजनाहरू, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको आदानप्रदान कार्यक्रम र संयुक्त शैक्षिक कार्यक्रमहरूको विकासमा सहकार्य गर्नेछन् । साथै, संयुक्त रूपमा सेमिनार, सम्मेलन र अनुसन्धान परियोजनाहरू आयोजना गर्नुका साथै शैक्षिक स्रोत र प्रकाशनहरू आदानप्रदान गर्नेछन् ।

attariya hospital
navjiwan hospital

सम्झौता पत्रमा सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तज्यू, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतम, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा. डा. शिलु मानन्धर, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजु कुमार थपलिया, र लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोद प्रसाद ढकाल गरी पाँचै विश्वविद्यालयका उपकुलपतिज्यूहरूले हस्ताक्षर गरेका छन् । साथै पाँचै विश्वविद्यालयका रजिष्ट्रारहरू सम्झौताको साक्षीका रूपमा उपस्थित रहेका थिए।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्रा. डा. यज्ञराज पाठक, मध्यपश्चिम विश्वविद्यालयका प्रा. डा. शोभाखर कँडेल, नेपाल खुला विश्वविद्यालयका प्रा. डा. गोविन्द सिंह बिष्ट, पूर्वाञ्चल विश्वविद्यालयका श्री नीलमणि पोखरेल, र लुम्बिनी प्राविधिक विश्वविद्यालयका श्री रेज बहादुर भण्डारी सम्झौता कार्यक्रममा सहभागी रहेका थिए भने उहाँहरूले यस सहकार्यलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता समेत व्यक्त गरेका थिए । सुरुवाती सम्झौता अवधि पाँच वर्षको रहेको छ भने प्रत्येक पाँच वर्षमा स्वतः नवीकरण हुने प्रावधान उल्लेख गरिएको छ ।

यदि कुनै विश्वविद्यालयले सम्झौताबाट बाहिरिन चाहेमा कम्तीमा छ महिनाअघि सूचना दिनुपर्नेछ । विश्वविद्यालय पदाधिकारीका अनुसार, यस साझेदारीले नेपालमा शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थप्नेछ साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्यलाई प्रवर्द्धन गर्नेछ भने विद्यार्थी तथा शिक्षकहरूका लागि सिकाइ र नवीनताको अवसर बढाउने अपेक्षा गरिएको छ । सम्झौता सुदूरपश्चिम विश्वविद्यालयमा सञ्चालित अन्तर्राष्ट्रिय सम्मेलनमा भएको हो ।