अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १० मा रहेको जानकी माविले सोमबार विविध कार्यक्रम गरी सरस्वती पूजा गरेको छ । कक्षा १० सम्म अध्यापन हुने उक्त विद्यालयले सरस्वती पूजाको अवसर पारी विद्यालयलाई सहयोग गर्ने दातालाई सम्मान गर्नुका साथै उत्कृष्ट, जेहेन्दार विद्यार्थीको हौसला बढाउन पुरस्कार वितरण गरेको हो ।

विद्यालयका प्रधानाध्यापक राम बहादुर पार्कीले सरस्वती पूजाको अवसरमा आर्थिक रूपमा विद्यालयलाई सहयोग गर्ने ढैया सलामी सामुदायिक वन, ढैया बेलामी सामुदायिक वन र सीतापुर युवा क्लबलाई सम्मान गरेको बताए । उनले सामुदायिक वनहरूले विद्यालयलाई आर्थिक रूपमा सहयोग गर्दै आएको र क्लबले विद्यालयलाई केही दिन अघि खेलकुदका सामग्री सहयोग गरेको बताए ।

यस्तै कार्यक्रममा कक्षा १ देखि १० प्रथम, द्धितिय, तृतीय, हुने विद्यार्थी र कक्षामा नियमित उपस्थित भई अनुशासनमा बस्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयले सरस्वती पूजाको अवसरमा आयोजना गरेको कक्षा आरम्भ कार्यक्रममा ६ जना सहभागी भएका थिए । उक्त कार्यक्रम वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । जानकी माविमा हाल ४१५ विद्यार्थी अध्ययनरत रहेका छन् ।

















