खाेज्नुहाेस

बैतडीमा ४८ विद्यालयको शैक्षिक गुणस्तर परीक्षण कार्य सम्पन्न, सिगासको गुणस्तर राम्रो

Image

बैतडी– बैतडीका तिन पालिकामा रहेका विद्यालयको शैक्षिक गुणस्तर परिक्षण कार्य सम्पन्न भएको छ । जिल्लामा एसइई परीक्षामा सहभागी हुँदै आएका तीन पालिकाका ४८ वटा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षणको काम सम्पन्न भएको हो ।

जसमा पाटन नगरपालिकाका १४ वटा विद्यालय, दशरथचन्द नगरपालिकाका १९ वटा विद्यालय र सिगास गाउँपालिकाका १५ वटा विद्यालय रहेका थिए । कुल ४८ वटा विद्यालयमा गरिएको गुणस्तर परिक्षणमा तुलनात्मक रुपमा सिगास गाउँपालिकामा राम्रो देखिएको छ ।

attariya hospital
navjiwan hospital

गुणस्तर परिक्षणको काम गरेका विज्ञ परीक्षकले दिएको प्रतिवेदन अनुसार नगरपालिकामा रहेका ३३ वटा विद्यालय भन्दा गाउँपालिकामा रहेका १५ वटा विद्यालयको शैक्षिक गुणस्तर राम्रो देखिएको हो । प्रतिवेदन अनुसार सिगासका १५ वटा माविमध्ये १२ वटाले अधिकतम ७२ देखि ८५ प्रतिशत अङ्क प्राप्त गरेर मध्यमस्तर कायम गरेका छन् भने तीन वटा माविले ५७ देखि ६८.९२ प्रतिशत अङ्क प्राप्त गरेर सामान्यस्तर कायम गरेका छन् ।

यस्तै दशरथ चन्दका १९ वटा माविले ४३ प्रतिशतदेखि ६७ प्रतिशतसम्म अङ्क प्राप्त गरेर सामान्यस्तर कायम भएका छन् । दशरथ चन्दमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने दशरथ चन्द माविको ६७ प्रतिशत नतिजा देखिएको छ । त्यसै गरेर १४ वटा मावि रहेको पाटन नगरपालिकामा भने दशरथ चन्दको भन्दा केही राम्रो नतिजा देखिएको छ । १४ वटा माविमध्ये पाटनमा सात वटा माविले ७० देखि ८२.८३ प्रतिशत अङ्क प्राप्त गरेर मध्यमस्तर कायम भएका छन् । पाटन नगरपालिकामा सबैभन्दा बढी ज्ञानेश्वर माविले ८२.८३ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

पाटन र दशरथ चन्दले शिक्षा क्षेत्रमा वार्षिक ३५ करोड रुपियाँ खर्च गर्दै आइरहेका छन् । सिगास गाउँपालिकाले शिक्षातर्फ वार्षिक १४ करोड ७७ लाख रुपियाँ खर्च गर्दै आएको छ । नगरपालिकाको तुलनामा गाउँपालिकाले आधा मात्रै लगानी गरेर शैक्षिक गुणस्तरमा अगाडि देखिएको छ । विज्ञ परीक्षक हर्कबहादुर ओली र टेकबहादुर ओलीले डेढ महिना समय लगाएर सिगासका १५ वटा माविको शैक्षिक गुणस्तर परीक्षण गरेका हुन । गुणस्तर परीक्षण गर्दा एसइई परीक्षाको उत्तीर्ण दर, लगानी र भौतिक अवस्थालाई मुख्य मापदण्ड बनाइएको बताईएको छ ।