धनगढी – कैलाली जनपुस्तकालय धनगढीले आयोजना गरेको अन्तर विद्यालय (आधारभूत तह) कविता प्रतियोगितामा नन्दिनाज एकेडेमी धनगढी पहिलो भएको छ । शनिवार २११ औँ भानु जयन्तीको अवसरमा आयोजित प्रतियोगिता नन्दिनाज एकेडेमीकी रिद्दिसा अधिकारीले प्रथम स्थान हासिल गरेकी हुन ।
प्रतियोगितामा एक्सिस विद्याश्रम धनगढीका मिसन उपाध्याय द्वितीय र सैनिक आवासीय महाविद्यालय तेघरी कैलालीका विश्वास बोहरा तृतीय स्थान हासिल गरेका छन् । यस्तै डिलाइट इङ्गलिस बोर्डिङ स्कुल धनगढी र त्रिभुवन मावि बोराडाँडी धनगढीका जेनिसा जोशी र विवेचना अवस्थीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।


प्रतियोगितामा कैलाली र कञ्चनपुरका २३ विद्यालयका २३ जना विद्यार्थी सहभागी रहेका थिए । धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार तथा संस्कृतिकर्मीहरूको उपस्थिति रहेको थियो ।
कविता प्रतियोगिताका विजेताहरूलाई असार २९ गते भानु जयन्ती विशेष समारोहमा पुरस्कार तथा सम्मान पत्र वितरण गरिने कार्यक्रम संयोजक तथा साहित्यकार हर्क बोहराले बताए ।
२११ औँ भानु जयन्ती असार २९ गते सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको आयोजना र कैलाली जनपुस्तकालयको सहभागितामा धनगढीको होटेल डिभोटीमा उत्सवका रूपमा मनाइन लागिएको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा टीएन जोशीले बताएका छन् ।

















