धनगढी- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले धनगढीमा पार्टीका सांसदहरूसँग छलफल गरिरहेका छन् । प्रदेशका आर्थिक मामिलामन्त्री घनश्याम चौधरीको सरकारी निवासमा रेशमसहित सुदूरपश्चिमका ६ सांसद छलफलमा जुटेका छन् ।

छलफलमा लुम्बिनी प्रदेशका संसदीय दलका नेता धर्म चौधरी पनि उपस्थित छन् । अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक चौधरीबीचको विवादले एकअर्कालाई निषेध र कारबाही गर्ने सिलसिला सुरू भएका बेला प्रदेशका सबै सांसदबीच छलफल भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा नागरिक उन्मुक्तिभित्र विवाद कायमै छ । रञ्जिता नयाँ सत्ता समीकरणमा सहभागी हुन चाहन्छिन् तर रेशम सुदूरपश्चिममा कांग्रेससित मिलेर सरकार बनाउने पक्षमा छन् ।
